विपीको जीवनीमा आधारित चलचित्रको छायाङ्कन गरिने

काठमाण्डु टुडे २०७१ असार १६ गते १३:३५ मा प्रकाशित

bp_koiralaकाठमाण्डु, १६ असार – नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको पूर्ण जीवनीमा आधारित चलचित्रको छायाङ्कन आगामी शुक्रबारदेखि सुरु गरिने भएको छ ।

विपी चिन्तन प्रतिष्ठानले तयार गर्न लागेको उक्त चलचित्रको छायाङ्कन विपी कोइरालाको पुख्र्यौली थलो दुम्जाबाट गर्न लागिएको हो ।

करिब रु ८० लाखको लागतमा निर्माण गर्न लागिएको उक्त चलचित्रको कथा लेखन कार्य सम्पन्न भइसकेको र उक्त लेखन दीपेन्द्र दाहालले गर्नुभएको प्रतिष्ठानका महासचिव देवेन्द्रप्रकाश पौडेलले जानकारी गराए ।

विपी जीवनीका विभिन्न महत्वपूर्ण पक्षलाई समावेश गरिएको उक्त चलचित्रलाई जम्मा ८१ वटा दृश्यमा विभाजन गरिएको छ ।

महासचिव पौडेलका अनुसार चलचित्रमा पूर्व राजासहित नेपाली राजनीतिमा विपीका सहयात्री एवम् सहयोगी राजनेता सुवर्णशंशेर, गणेशमान सिंह हुँदै गिरिजाप्रसाद कोइरालादेखि वर्तमान प्रधानमन्त्री सुशील कोइरालासम्मका व्यक्तित्वहरुसँग जोडिएका घटनाक्रमहरु समावेश हुनेछन् ।

चलचित्रमा विपीको पुख्र्यौली थलो दुम्जादेखि उनको जीवनी एवम् राजनीतिक यात्राका महत्वपूर्ण स्थल मानिने विराटनगर, काठमाडौँ, भारतका विभिन्न स्थानलगायतलाई समेट्ने प्रयास गरिनेछ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us