विज्ञापनको रकम नपाएको भन्दै पत्रकारको धर्ना

काठमाण्डु टुडे २०७१ असार १६ गते ९:५८ मा प्रकाशित

काठमाण्डु, १६ असार – समानुपातिक विज्ञापनबापतको वृद्धि रकमको भुक्तानी नपाएको भन्दै नेपाल पत्रकार महासङ्घ काठमाडौँ उपत्यकाका तीनवटा शाखाको नेतृत्वमा सोमबार सिंहदरबारस्थित सूचना तथा सञ्चार मन्त्रालयमा एक घण्टा धर्ना दिएका छन् ।

चालु आर्थिक वर्षमा आफूहरुको मागका आधारमा २५ प्रतिशत वृद्धि गरिएको सो रकम आर्थिक वर्षको अन्त्यसम्ममा पनि प्राप्त नभएको भन्दै धर्ना दिइएको महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष गोविन्द चौलागाईंले बताए ।

धर्नामा महासङ्घका केन्द्रीय सदस्य ईश्वरी वाग्ले र रामहरि सिलवालको पनि उपस्थिति थियो । महासङ्घ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेले मङ्गलबार अर्थ मन्त्रालयमा धर्ना दिइने कार्यक्रम रहेको जानकारी दिए ।

धर्नाका क्रममा मन्त्रीहरुलाई कार्यालय प्रवेशमा अवरोध गर्ने कार्यक्रम पनि तय भएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us