धनगढी, १६ असार – संयुक्त बजार अनुगमन समिति कैलालीले कार्बाइड नामक हानिकारक रसायन प्रयोग गरी पकाइएको करिब छ लाख मूल्य बराबरको दश हजार किलो आँप जफत गरेको छ ।
कार्बाइड प्रयोग गरी पकाइएको आँप स्थानीय बजार क्षेत्रमा निर्वाध रुपमा बिक्री भइरहेको गुनासो बढेपछि गएको अनुगमन टोलीले यस्तो आँप जफत गरेको अनुगमन टोलीमा संलग्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सञ्जीवकुमार कर्णले जानकारी दिए ।
उपभोक्ताको गुनासोपछि संयुक्त बजार अनुगमन समितिले शनिबार गरेको अनुगमनका क्रममा धनगढीका विभिन्न व्यापारीबाट बिक्री भइरहेको र बिक्रीका लागि भण्डारण गरिएको अवस्थामा आँप जफत गरिएको हो ।
बजार अनुगमनका क्रममा धनगढीका फलफूल व्यापारी अफजाल अहमद, गुड्डु अन्सारी, विकास शाह, सूर्यचन्द्र, भोजराज बोहरा र सञ्जित शाहको फलफूल पसलबाट यस्तो आँप जफत गरिएको हो ।
मानव स्वास्थ्यका लागि हानिकारक रसायन कार्बाइडको प्रयोग गरी आँप पकाउन खाद्य ऐनले प्रतिबन्ध लगाएको भएपनि व्यापारीमा अन्धाधुन्द रुपमा यो रसायनबाट आँप पकाई बिक्री गर्ने प्रवृत्ति बढेको छ ।
यसरी पकाइएको आँपको उपभोगले मानिसमा स्नायु र छालासँगसम्बन्धी रोगहरु देखिने, मिर्गाैलामा असर पु¥याउने, क्यान्सर हुन सक्ने, गर्भवती महिलाले यस्तो आँप बढी उपभोग गरेमा जन्मिने बच्चा विकृत हुने खतरा रहेको खाद्य अनुसन्धान अधिकृत कर्णले बताए ।
खाद्य ऐनमा यस्तो खाद्य पदार्थ बिक्री वितरण गर्नेलाई रु १० हजारदेखि रु २० हजार जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ । यी व्यापारीहरुमाथि खाद्य ऐनअनुसार मुद्दा चलाउने प्रक्रियासमेत अघि बढाइएको छ ।
यस जिल्लाको ८०० हेक्टर जमिनमा आँपको खेती हुने गरेको छ । गत वर्ष १२ हजार टन आँप उत्पादन भएकामा यस वर्ष तीन हजार टनभन्दा कम परिमाणको आँप मात्र उत्पादन हुनसकेको कृषि विकास कार्यालयका प्रमुख खगेन्द्रप्रसाद जोशीले बताए ।