बजेट पहुँचको भरमा नबाँडियोस् : काँग्रेस

काठमाण्डु टुडे २०७१ असार १६ गते ७:२९ मा प्रकाशित

Nepali-Congress-Flag1315101735

काठमाण्डु, १६ असार – नेपाली काँग्रेस केन्द्रीय समिति र संसदीय दलको सोमबार बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।

हरेक जिल्ला र गाउँमा बजेट बाँडफाँड सन्तुलित तवरले हुुनुपर्ने माग गर्दै केन्द्रीय सदस्य एवम् सभासद्हरुले प्राथमिकतामा परेको ठूला योजनामा लगानीकर्तालाई जानकारी हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।

बैठकमा केन्द्रीय सदस्य एवम् सभासद्हरुले नीति तथा कार्यक्रमले ऊर्जासम्बन्धी राष्ट्रिय प्राथमिकताका योजनालाई समेट्न नसकेको गुनासो गरेका थिए ।

बैठकमा अधिकांश केन्द्रीय सदस्य एवम् सभासद्हरुले हिजो सरकारले व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै आवश्यक सुझाव दिएको केन्द्रीय सदस्य एवम् प्रवक्ता बडूले जानकारी दिए ।

कार्यबाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा पहिलोपटक बसेको काँग्रेसको बैठकमा संयुक्त राज्य अमेरिकामा उपचारारत सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँको स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी गराइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us