संघीयतामा जाँदा १ हजार गाउँपालिका हुने

काठमाण्डु टुडे २०७१ असार १६ गते २:०५ मा प्रकाशित

काठमाण्डु, १६ असार –संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले संघीय संरचनामा जाँदा देशभर बढीमा १ हजारओटा स्थानीय सरकार निर्माण गर्न उपयुक्त हुने जनाएको छ । मन्त्रालयले हाल स्थानीय निकायको रुपमा रहेको नगरपालिका र गाबिसहरुलाई मिलाएर एक हजारओटा स्थानीय सरकार गठन हुँदा जनतामा प्रभावकारी सेवा प्रवाह गर्न सकिने निष्कर्ष निकालेको हो ।
‘अहिले स्थानीय निकायहरुले उपलब्ध गराउँदै आएको सरकारी सेवाहरु भोलिको स्थानीय संचरनामा अझै प्रभावकारी बनाउँदा स्थानीय सरकारको संख्या बढीमा एक हजार हुनु पर्ने हाम्रो भनाई छ, मन्त्रालयका संघीय मामिला एकाई प्रमुख सुसन घिमिरेले भने,’संघीयतामा नगरपालिका र गाउँपालिकाहरुको संख्या ८ सयदेखि एक हजार हुनुपर्ने विभिन्न अध्ययनहरुले औँल्याएको छ ।’
हाल देशभरका ७५ जिल्लामा जम्मा ३ हजार ६ सय ३३ गाविस र १ सय ३० नगरपालिका छन् । विकेन्द्रीकरणको सिद्धान्तअनुसार सरकारले स्थानीय स्वायत्त शासन ऐन लागू गरी २०६५ सालदेखि नै स्थानीय निकायहरुलाई वित्तीय अधिकार प्रदान गरेको थियो । जसअनुरुप उनीहरुले आफ्नो क्षेत्रको विकासका लागि आर्थिक स्रोत परिचालनका साथै स्थानीय तहमा नीति निर्माण गरी लागू गर्न पाउने अधिकारी पनि पाएका छन् ।
मन्त्रालयले हाल देशभर छरिएर रहेका तिनै अधिकारसम्पनन ३ हजार ७ सय ६३ ओटा स्थानीय निकायलाई नै संघीय संरचनामा संख्या घटाएर एक हजारओटा स्थानीय सरकार बनाउनुपर्ने उल्लेख गरेको छ । हाल जिविस, नगरपालिका र गाविसहरुले हाल जनतालाई सरकारी तहबाट प्रदान गरिने सेवाहरु प्रत्यक्ष रुपमा उपलब्ध गराउँदै आएका छन् ।आजको राजधानी दैनिकले समाचार छापेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us