‘उज्यालो नेपाल समृद्ध नेपाल’ महत्वाकांक्षी योजना

काठमाण्डु टुडे २०७१ असार १५ गते १२:१३ मा प्रकाशित

काठमाण्डु, १५ असार –  ‘उज्यालो नेपाल समृद्ध नेपाल’ भन्ने नाराका साथ सरकारले मुलुकको ऊर्जा सङ्कटलाई समाधान गर्ने महत्वाकाक्षी रणनीति अगाडि सारेको छ ।

caव्यवस्थापिका–संसदमा आज राष्ट्रपति डा रामवरण यादवले सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ऊर्जा विकासलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउने लक्ष्य राखिएको छ ।

विद्यमान विद्युत् केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्नेदेखि नयाँ आयोजनाहरुलाई तिव्रताका साथ निर्माण गर्ने कामलाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।

हिउँद र वर्षायाममा विद्युत् आपूर्ति र मागमा आउने उतार चढावलाई ध्यानमा राखी बुढीगण्डकी, नलसिंहगाड, आँधिखोला, उत्तरगङ्गा र नौमुरे जस्ता जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार पारी बुढीगण्डकी आयोजनाको निर्माण सुरु गर्ने महत्वाकांक्षी कार्यक्रम अगाडि सारिएको छ ।

यस्तै कर्णाली चिसापानी बहुउद्देश्यीय परियोजना, माथिल्लो सेती परियोजना र माथिल्लो झिम्रुक परियोजनाको अध्ययन सुरु गर्ने, सार्वजनिक, स्थानीय निकाय, सहकारी र स्थानीय जनताको साझेदारीमा जलविद्युत् उत्पादनमा लगानी गर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

अन्तरदेशीय प्रसारण लाइनको रुपमा महत्वपूर्ण मानिएको ढल्केबर–मुजफ्फपुर चार सय केभीको प्रसारण लाइनको निर्माण कार्य आगामी वर्ष सम्पन्न गर्ने र थप दुई अन्तरदेशीय प्रसारण लाइन निर्माण सुरु गरिने तथा आन्तरिक प्रसारण लाइन विस्तारलाई तिव्रता दिइने नीति अगाडि सारिएको छ ।

विद्यमान जल तथा ऊर्जा आयोगको पुनः संरचना गरी विशेषज्ञहरु रहेको जलस्रोत आयोग बनाइने र नयाँ विद्युत् ऐन र विद्युत् नियमन आयोग ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याइने तथा नेपाल विद्युत् प्राधिकरणको पुनः संरचना गरी उत्पादन, प्रसारण र वितरण सम्बन्धी कामलाई फरक–फरक संरचना मार्फत अगाडि बढाइने लक्ष्य राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us