
काठमाण्डु, १५ असार – नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले जतिसुकै तानातान भए पनि कम्तिमा ६० प्रतिशत मतबाट माधव नेपाल अध्यक्षमा निर्वाचित हुने दावी गरेका छन ।पाण्डे नेपाल पक्षबाट महासचिवका प्रत्यासी हुन् ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले पूर्वाञ्चल, सुदुरपश्चिमान्चल, मध्यपश्चिमाञ्चल र प्रवास भारतबाट दुई तिहाई नेपाल पक्षका महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएको पश्चिमाञ्चलमा आधा–आधा निर्वाचित भएर आएको दावी गर्दै भने–जतिसुकै घटाउन खोजे पनि हामी ६० प्रतिसत मतसहित चुनाव जित्छौ ।
साक्षात्कारमा पाण्डेले मदन भण्डारीको जनताको बहुदलीय जनतवादको ब्याख्याता नेपाल भएकोले कसैले पनि भण्डारीको राजनीतिक सम्पत्तिको ब्याज खान नखोजे हुने चेतावनी दिदै अब नेपालले कसैसँग पनि कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।
ओली पक्ष सबै बुढाखाडाको भिड भएको भन्दै आफूहरुको पक्षमा नेपाल बाहेक सबै यूवा पुस्ता रहेकोले नेपालको एक कार्यकालपछि यूवा पुस्तामा एमालेको नेतृत्व हस्तान्तरण हुने ठोकुवा गरे ।
ओलीले एमालेलाई प्राईवेट कम्पनी बनाएको आरोप लगाउँदै यस पटक ओलीको सिण्डिकेटलाई तोड्दै अघि बढ्ने दावी गरे ।
पाण्डेले महाधिवेशनमा सत्ताको दुरुपयोग हुन नदिने र दुरुपयोग गरि सरकारी गाडि चढेर आउनेहरुलाई गाडिसमेत कुदाउन नदिने घोषणा गर्दें भने–बामदेब गौतम मात्रै शक्तिशाली होईन, हामी सत्तामा बसेर आएका छौ, सडकबाट आएका हौईनौ । सत्ताको दुरुपयोग चल्न दिदैनौ । त्यो दुरुपयोग रोक्न हामी तयार छौं ।
उनले झलनाथ खनालको अध्यक्ष बन्ने सम्भावना अन्त्य भईसकेको भन्दै अब चुनाव वा सर्वसम्मत जुन विधीबाट भए पनि माधवकुमार नेपालकै नेतृत्व हुने दावी गरे । पाण्डेले भने–नीति पनि नेपालकै हो । नेतृत्व पनि उहाँकै हुन्छ । ओलीपक्षसँग कुनै विचार छैन । उनीहरु बैचारिक बहसमा हारिसकेका छन ।
पत्रकारहरुको तपाईको प्रतिस्पर्धी को त ? भन्ने जिज्ञासामा नेता पाण्डेले आफूलाई आफ्नो प्रतिस्पर्धी कोही पनि नभएको बताए । उनले भने–खोई मलाई थाहा छैन । मलाई त जानकारी छैन । म चाँही महासचिवको उमेद्धवार हुँ । अरुको बारेमा प्रश्न नगर्नुहोस ्। नेता पाण्डेले आफ्नो प्यानल नै विजयी हुने पनि उद्घोष गरेका छन् ।