धार्मिक स्थल प्रहरीको कब्जामा

काठमाण्डु टुडे २०७१ असार १५ गते ९:०९ मा प्रकाशित

जनकपुरधाम, १५ असार – भेटीको विवाद चुलिएपछि विगत दुई वर्षदेखि धार्मिक स्थल कारिक स्थानमा प्रहरीले कब्जा जमाएको छ ।

सञ्चालक समिति र मन्दिरका पुजारीबीच भेटी चढाएको आम्दानीलाई लिएर विवाद बढेपछि प्रहरीले सो धार्मिक स्थलमा कब्जा गरी मन्दिरको आम्दानी आफैँ राख्न थालेको छ ।

परापूर्वकालदेखि मन्दिरमा भक्तजनले चढाउने बोकाको बलिबाट हुने आम्दानीमा मन्दिर सञ्चालक समितिले भाग खोजेपछि विवाद चुलिएर अहिले उक्त मुद्दा सर्वोच्च अदालतसम्म पुगेको पुजारी अर्जुन यादवले जानकारी दिए ।
“पुजारी पक्ष र समितिबीच भेटीको विवाद चलेकाले तत्काल मन्दिरमा आम्दानी हुने रकम हामीले राख्न थालेका हौँ,” इलाका प्रहरी कार्यालय बलुवा महोत्तरीका सई मोहन खड्का भन्छन् – “भेटी रकम राष्ट्रिय वाणिज्य बैंक जलेश्वर शाखामा जम्मा गरी भौचर जिल्ला प्रशासन कार्यालयमा बुझाउने गरेका छौँ ।”

महोत्तरी जिल्लाको पडौल गाउँ विकास समिति वडा नं ३ मा रहेको सो धार्मिक स्थल कारिक स्थानमा हप्ताको दुई दिन शुक्रबार र सोमबार ठूलो धार्मिक मेला लाग्ने गर्छ जहाँ नेपाल तथा भारतका असङ्ख्य श्रद्धालु आएर पूजाअर्चना गर्नुका साथै भाकल पूरा हुनेले ठूलो सङ्ख्यामा बोकाको बलि चढाउने गर्दछन् ।

भक्तजनद्वारा मन्दिरमा चढाउने भेटीमा सञ्चालक समितिले नौ प्रतिशतमात्र पाउँछ भने पुजारी पक्षले सात प्रतिशत रकम पाउने परम्परा रहिआएको छ ।

विसं २०१७ देखि समिति र पुजारीबीच भेटी सहमतिमा भागबण्डा हुने गरेको थियो । पछि भेटीको रकम बढी हुन थालेपछि समितिले भेटीमा आफ्नो पूर्ण स्वामित्व हुनुपर्ने माग गर्दा विवादले उग्र रुप लिएको हो ।

बलिबापत एउटा बोकाको रु ९० लिने गरेकाले दैनिक रु पाँच लाखजति रकम आम्दानी हुँदा दुवै पक्षबीच रकमका लागि हानथाप चलेको हो । विवाद बढ्दा बाध्य भएर सो रकम बैंकमा राख्नुपर्ने अवस्था आएको बलुवा प्रहरीले जनाएको छ ।

अहिले दुई जना प्रहरी जवानले रसिद काटेर उठेको रकम आफ्नो जिम्मामा राख्ने गरेको र त्यसलाई एकमुष्ट बैंक दाखिला गर्ने गरिएको छ ।

धार्मिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको सो स्थान (मन्दिर)मा भाकल गर्दा इच्छ्याएको फल मिल्ने, सन्तान सुख प्राप्त हुने विश्वास रहिआएकाले नेपाल र भारतका असङ्ख्य श्रद्धालुहरु पूजाअर्चनाका लागि आउने गर्दछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us