
ललितपुर, १५ असार – कञ्चन अङ्ग्रेजी माध्यमिक विद्यालयको बसले आइतबार एक मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
लेले टीकाभैरवमा विपरीत दिशाबाट आइरहेको बा५९प १९०३ नम्बरको मोटरसाइकललाई बा१क ५६११ नम्बरको बसले ठक्कर दिएपछि घाइते भएका मोटरसाइकल चालक लेले–६ बस्ने ३४ वर्षीय हरेराम थापाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
उक्त बस विद्यार्थी लिन चापागाउँबाट लेले जाँदै गर्दा यो दुर्घटना भएको हो ।
ठक्कर दिने बस र चालक दीपक दाहाललाई महानगरीय प्रहरी वृत्त चापागाउँले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता नायब प्रहरी उपरीक्षक पवन गिरीले जानकारी दिए ।