सरकारको नीति तथा कार्यक्रम पारित

काठमाण्डु टुडे २०७१ असार १५ गते ६:२० मा प्रकाशित

काठमाण्डु, १५ असार – सरकारको वार्षिक नीति तथा कार्यक्रम आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ।

opmcकार्यबाहक प्रधानमन्त्री वामदेव गौतमको अध्यक्षतामा पहिलोपटक बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिए ।

मन्त्रिपरिषद्ले पारित गरेको नीति तथा कार्यक्रम राष्ट्रपति डा. रामवरण यादवलाई कार्यबाहक प्रधानमन्त्री गौतमले आजै भेट गरी जानकारी गराउने प्रवक्ता रिजालले जानकारी दिए ।

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री सुशील कोइराला मुलुक बाहिर रहेकाले प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका उपप्रधानमन्त्री गौतमको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको हो ।

बैठकले संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा उपचाररत प्रधानमन्त्री कोइरालाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

यसैबीच, राष्ट्रपति डा. यादवले सरकारको आव २०७१÷७२ को वार्षिक नीति तथा कार्यक्रम व्यवस्थापिका–संसद्मा आज अपराह्न प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

संविधानसभाको निर्वाचन सम्पन्न भएको करिब आठ महिनापछि राष्ट्रपतिले पहिलोपटक व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्न लागेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us