
काठमाण्डु, १५ असार– एकीकृत माओवादी काठमाण्डुको अध्यक्षमा अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा चयन भएका छन् ।
काठमाण्डुको बानेश्वरमा आइतबार बसेको जिल्ला कमिटी बैठकले शर्मालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
यसअघि अध्यक्षका दाबेदार रहेका सर्वोत्तम डंगोल र महेन्द्र श्रेष्ठले समेत शर्माको नाममा सहमति जनाएका थिए । शर्मा र डंगोल संस्थापन र श्रेष्ठ असन्तुष्ट बाबुराम भट्टराई पक्षधर हुन् । विराटनगर राष्ट्रिय सम्मेलनअघि गत वैशाख १३ र १४ गते भएको जिल्ला सम्मेलनले ५८ सदस्यीय जिल्ला कमिटी चयन गरे पनि अध्यक्षसहित पदाधिकारी चुन्न बाँकी थियो ।
यस्तै ७५ सदस्यीय जिल्ला कमिटीका बाँकी सदस्य मनोनयन हुन सकेको छैन । सबैभन्दा धेरै २० हजारभन्दा बढी पार्टी सदस्य रहेको काठमाण्डुको जिल्ला इन्चार्जको जिम्मेवारी भने मजदुर नेता शालीकराम जमकट्टेलले पाएका छन् ।
एमाओवादीले अन्य ८ वटा गैरभौगोलिक जिल्ला सम्मेलन खारेज गर्दै काठमाण्डुमै मिलाएपछि कमिटी ठूलो भएको हो । अन्य जिल्लामा भने ५१ सदस्यीय जिल्ला कमिटी छ । अध्यक्षको चयनपछि बाँकी ५ पदाधिकारीको चयन हुने इन्चार्ज जमकट्टेलले काठमाण्डु टुडेलाई बताए ।