
चितवन, १५ असार – चितवनको विकट काउलेमा विषालु च्याउ खाँदा पाँचजना सिकिस्त बिरामी परेका छन् ।
काउले गाविस–३ हात्तीबाङका एकै परिवारका चारजना चेपाङ र छिमेकी एकजना मगर च्याउ खाएर बिरामी भएका हुन् । उनीहरुले शनिबार बिहान जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएका थिए ।
च्याउ खाएको केही घण्टामै बिरामी परेका उनीहरुलाई साँझ मात्र भरतपुर अस्पताल ल्याइएको थियो ।
विषालु च्याउ खाएर बिरामी हुनेहरुमा ४० बर्षीया कल्पना चेपाङ, ४५ बर्षीया सुन्तली चेपाङ, सात वर्षीया कान्छी चेपाङ, आठ वर्षीय नवीन चेपाङ र स्थानीय खुनबहादुर राना रहेको उनीहरुको उपचारमा संलग्न स्थानीय पुष्म चेपाङले जानकारी दिए ।
बिरामी परेकाहरुमध्ये कान्छीको अवस्था गम्भीर रहेको प्रहरीले आज जानकारी दिएको छ । १२ जना परिवारका सबैले च्याउ खाए पनि अन्यलाई खासै असर नपरेको बताइएको छ ।