
काठमाण्डु, १४ असार– एमाले वरिष्यठ नेता माधवकुमार नेपालले पार्टी नेतृत्व कब्जा गर्न केपी ओली पक्षले जिल्ला जिल्लामा ताण्डव नेतृत्व देखाएको आरोप लगाएका छन् ।
काठमाण्डुको बुद्धनगरमा शनिबार भएको आफू पक्षधर महाधिवेशन प्रतिनिधिको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीभित्रको ताण्डव नृतत्वले आफू स्तब्ध भएको उल्लेख गरे ।
उनले ओली पक्षले मतदाता नभएकालाई भोट हाल्न लगाउनेदेखि सुरक्षामा खटिएका प्रहरीलाई सीमा नाघेर गतिविधि गर्न निर्देशन दिएको टिप्पणी गरे । ‘भेरी अञ्चल कमिटीसहित देशका विभिन्न स्थानमा ताण्डव नेतृत्व देखाइएको छ’, नेता नेपालले भने, ‘यसबाट म गम्भीर र स्तब्ध भएको छु ।’
नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका नेपालले अर्का प्रत्यासी ओली पक्षले आफूलाई हराउन करोडौं खर्च गर्ने योजना बनाएको दाबी गरे । तर वैचारिक रुपले खारिएर स्पात भएका एमाले कार्यकर्ता पैसाको भरमा किक्ने बिकाउ माल नभएको उनको भनाइ थियो ।
‘एमालेका एकजना धनाढ्य नेताले माधव नेपाललाई हराउन र आफू जित्न कति करोड खर्च गर्नुपर्छ गर्छु भनेछन्’, नेपालले भने ‘एमालेका कार्यकर्ताहरु विचारले स्पात भएका छन्, उनीहरु पैसामा बिक्ने बिकाउ माल वाला छैनन् ।’
नेपालले महाधिवेशन प्रतिनिधिसमक्ष आफूसहित आफ्नो विचार समूहका नेतालाई जिताउन आग्रह गरे । उनले सिद्धान्त निष्ठ, योग्य, गतिशील, समक्ष र मुलुकका लागि आवश्यक जुझारु नेताहरुको टिम आफूसँग रहेको दाबी गरे ।