हाेला त दुई माओवादीबीच एकता ?

काठमाण्डु टुडे २०७१ असार १४ गते ५:३१ मा प्रकाशित

काठमाण्डु,  १४ असार- दुई माओवादीबीच ‘कार्यगत एकता’ भइगए पनि पार्टी एकता भनेजस्तो सहज छैन । दुई वर्षअघि विभाजित माओवादी मिल्न कम्तीमा कार्यदिशा prachanda-mohan baidhyaमिल्नुपर्ने हुन्छ । यतिबेला एमाओवादीले लिएको ‘पुँजीवादी जनवादी क्रान्ति’ र माओवादीको ‘जनविद्रोह’ को कार्यदिशा फरक धु्रवजस्ता छन् ।

एकताका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापासँग लामो कुराकानी गरे पनि ठोस आधार देखिएको

छैन । संविधानसभा निर्वाचनमा पराजयपछि दाहालले दुई माओवादी नमिली अघि जान नसकिने निष्कर्ष निकाल्दै वैद्यसँग हात बढाएका हुन् । वैद्य भने एमाओवादीको कार्यदिशा नसच्याए एकता हुन नसक्ने अडानमा कायम छन् ।

वैद्यले पार्टी विभाजनको औचित्य पुष्टि गर्न नसकेको महसुस गरेका छन् । माओवादीले ‘जनयुद्धको जगमा जनविद्रोह’ कार्यदिशा पारित गरे पनि त्यता जान सकेको छैन । तैपनि वैद्यले आफू पार्टी एकताको विरोधी नभए पनि ‘भावनामा बगेर’ नहुने प्रतिक्रिया दिँदै आएका छन् । त्यसले दाहाल झ्न भावुक बने । अनि, वैद्यलाई अध्यक्ष बनाएर भए पनि एकता गर्ने अभिव्यक्ति दिए ।

करिब एक महिनाअघि वैद्यसमेत सहभागी एक कार्यक्रममा दाहाल भक्कानिँदै एकताका लागि त्याग गर्न तयार रहेको बताए । लगत्तै वैद्यले त्यसको जवाफ दिए, ‘हामी एकताको पक्षपाती हौं, तर कमरेड, भावनामा आएर एकता हुँदैन ।’ उनले मूल कार्यदिशा नमिली एकता हुन नसक्ने बताए । माओवादीले एमाओवादीको ‘जनवादी पुँजीवादी क्रान्ति’ को कार्यदिशालाई ‘दक्षिणपन्थी’ भन्दै आएको छ ।

अर्कातिर एमाओवादी नेता बाबुराम भट्टराई दाहालबाट टाढिएका छन् । वैद्य माओवादीसँग बैठकमा भट्टराई कमै मात्र उपस्थित हुन्छन् । माओवादीमै पनि नेत्रविक्रम चन्द खेमाले दाहालका ‘मिठा र भावनात्मक’ कुरा नपत्याउन वैद्यलाई सचेत गराएको छ ।

दाहाल वैद्यको कार्यदिशामा चाहेर पनि ढल्कन सक्दैनन् । हेटौंडा महाधिवेशनले तय गरेको पुँजीवादी क्रान्ति एमाओवादीका लागि विधिवत रूपमा लोकतान्त्रिक बाटोमा आएको प्रमाण हो । माओवादीसँग एकता गर्न यो कार्यदिशा छाड्नुपर्ने वा त्यसलाई व्यापक संशोधन गर्नुपर्ने हुन्छ । त्यसो गर्दा एमाओवादीले शान्ति प्रक्रियामा आइसकेपछि आर्जन गरेको लोकतान्त्रिक ख्याती गुम्ने छ । त्यसकारण पनि वैद्यको जनविद्रोहको कार्यदिशा स्वीकार गर्न गाह्रो छ ।

तैपनि दाहालले विराटनगर राष्ट्रिय सम्मेलनमा पारित गरेको राजनीतिक दस्तावेजमा ‘बलप्रयोग’ को नीति घुमाउरो ढंगले ल्याएका छन् । उनले वैद्यले अघि सारेको संविधान निर्माणका लागि राष्ट्रिय राजनीतिक सभा स्वीकारिसकेका छन् । तर, वैद्यले भनेजस्तो संविधान निर्माणका अन्तरवस्तु स्वीकार गर्न उनलाई गाह्रो छ । उसले अघि सारेका जातीय पहिचानसहितको संघीयतालगायत मुद्दा कांग्रेस-एमालेले स्वीकार्दैनन् । त्यसैले दुई माओवादीको एकताले संविधान निर्माणमा अवरोध हुने अवस्थामा दाहाल झन् अप्ठ्यारोमा पर्न सक्छन् ।

क्रान्तिकारी कुरा गर्दै हालै रोल्पाको थवाङमा सैन्य मार्चपास गर्ने माओवादीले एमाओवादीको पुँजीवादी क्रान्तिको कार्यदिशा स्वीकार गर्नु ‘आत्मसमर्पण गर्नुसरह’ उनीहरू नै ठान्छन् । माओवादीले हेटौंडा महाधिवेशनले तय गरेको पुँजीवादी क्रान्तिको कार्यदिशा सच्याउनुपर्ने, राष्ट्रियताको मुद्दा चर्काउनुपर्ने, लडाकु समायोजनमा कमजोरी भएको स्वीकार्नुपर्नेलगायत ६ बुँदे माग अघि सारेको छ । ‘यी कुरा स्वीकार भए एकता हुन्छ,’ माओवादी प्रवक्ता पम्फा भुसाल भन्छिन्, ‘अहिलेसम्म छलफल कार्यगत एकता गर्ने चरणमा पुगेको छ ।’

एमाओवादी स्थायी समिति सदस्य राम कार्कीले दुवैलाई मिल्नुपर्ने महसुस भए पनि ठोस भइनसकेको बताए । ‘पार्टी फुट्दा हामीलाई बेसरी घाटा भयो, वैद्यजीहरूले फुटको औचित्य पुष्टि गर्न सक्नु भएन,’ उनले भने । माओवादीभित्रै पनि लचक भएर एकता गर्ने/नगर्नेबारे विवाद छ । सचिव नेत्रविक्रम चन्द पक्ष जनविद्रोहको कार्यदिशाबाट अलिकति पनि दायाँबायाँ गरेर एकता नगर्ने अडानमा छ । महासचिव रामबहादुर थापा, प्रवक्ता भुसाल, नेता हितमान शाक्य केही लचक भएर एकतामा जाने पक्षमा छन् । एमाओवादीसँग बिहीबार मात्र कार्यगत एकता गरेको माओवादीको पोलिटब्युरो बैठक जारी छ । ‘एकताबारे छलफल चल्दैछ, अहिले ठोस भएको छैन,’ नेता धर्मेन्द्र बास्तोलाले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us