एक छाक भातका भरमा होटलमा भाँडा माझ्छन बालमजदुर

काठमाण्डु टुडे २०७१ असार १४ गते ४:०० मा प्रकाशित

गाईघाट, १४ असार– नेपालबाट पूर्णरुपमा बालश्रम हटाउने अभियान सञ्चालन भइरहेका बेला जिल्लामा भने बालश्रमिकको संख्या वृद्धि हुँदै गएको छ ।

सदरमुकाम गाईघाटसहित जिल्लाको पश्चिम व्यापारिक केन्द्रका रुपमा रहेको कटारी बजार तथा पूर्वी व्यापारिक केन्द्रका रुपमा रहेको बेल्टार बजार क्षेत्रमा अहिले दिनानुदिन बाल श्रमिकको संख्या वृद्धि भएको छ ।
गाईघाट बजारको ठूला होटलमा मात्र दुई दर्जनको हाराहारीमा यस्ता बालश्रमिक भाँडा माझ्ने तथा होटल सफा गर्ने र खाना पकाउनेजस्ता कार्यमा प्रत्यक्षरुपमा संलग्न छन् ।
यस्तै साना होटल तथा यातायातका साधनमा समेत बालश्रमिकको सङ्ख्यामा वृद्धि हुुँदै जान थालेको गाइघाटका समाजसेवी खड्गबहादुर राउतले बताए ।

यस्तै जिल्लाको पश्चिमी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको कटारी बजारका अधिकांश होटलमा भाँडा माझ्ने तथा पानी ओसार्ने र होटल सफा गर्ने कार्यमा बालश्रमिककै प्रयोग हुँदै आएको कटारी–४ जौबारीका स्थानीय विष्णु पोखरेलले बताए ।

केही बालश्रमिकले मालिकबाट सामान्य परिश्रम पाए पनि धेरैजसोले  खाना खान दिएको भरमा शोषणमा परेर नै काम गर्दै आएको सरोकारवालाको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us