५ विद्यार्थीका लागि ९ जना शिक्षक !

काठमाण्डु टुडे २०७१ असार १४ गते २:१६ मा प्रकाशित

पर्सा, १४ असार– पर्साको पोखरिया सतबरियामा रहेको एक विद्यालयमा दैनिक रुपमा विद्यार्थीभन्दा शिक्षक बढी उपस्थित हुने गरेको पाइएको छ । सो ठाउँमा रहेको नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयमा शिक्षकभन्दा विद्यार्थीको संख्या कम हुने गरेको पाइएको छ ।

स्थानीय सचेत अभिभावकहरुका अनुसार सुो विद्यालयमा कक्षा १ देखि ८ कक्षा सम्म पढाई सञ्चालन हुने भएपनि विद्यालयमा परीक्षाको समयमा समेत विद्यार्थीको उपस्थिति न्यून हुने गरेको पाइएको आजको नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

दिनमा ५ जनाभन्दा बढी विद्यार्थी आएको रेकर्ड नै नभएको स्थानीयहरुले बताएका छन् । शिक्षाप्रतिको महत्व कम बुझेका कारण समस्या भइरहेको विद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद चौहानले बताएका छन् । सो विद्यालयमा सवै प्रकारका गरेर ९ जना शिक्षक भएपनि विद्यार्थी नआउने र भएका शिक्षकहरु पनि हाजिर गरेर घर र्फकने गरेको पाइएको छ ।

विद्यार्थीलाई घरमा गएर ल्याउने अवस्था नभएका कारण पनि विद्यालयमा विद्यार्थीको संख्या कम भएको स्वयम् प्रअ चौहानले स्वीकारेका छन् । पर्साको सतबरियामा मात्रै नभई धेरैजसो विद्यालयमा यो समस्या देखिएको पर्साका शिक्षा कार्यालयका अधिकारीहरुले वताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us