काठमाण्डु, १४ असार– संविधान बनाउन जनताबाट चुनिएका सभासद आफै कानुनविपरीत राज्यको ढुकुटी खर्च गर्छन् । राज्यले प्रत्येक सभासद्लाई बर्षेनी दिएको निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट उनीहरुले पद र शक्तिको दुरुपयोग गरी खर्च गर्ने गरेको पाइएको छ ।
निर्वाचन क्षेत्र विकासका लागि आएको बजेट अहिलेसम्म सभासदहरुले आफ्नो भोट व्यांक जोगाइराख्न तथा कार्यकर्ता पोस्न मात्र खर्च गर्ने गरेको देखिएको आजको अन्नतपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
सभासद्ले पाउने १० लाख रुपैयाँ विशेष गरी पार्टी कार्यालय बनाउन, विपन्न सहिद परिवारलाई अनुदान दिन, सहिद स्मृति भवन वा पार्क बनाउन र कार्यकर्तालाई आर्थिक सहायता दिन प्रयोग गरेको जिविसको अभिलेखमा उल्लेख छ ।
यस वर्ष गोरखा जिल्लामा एमाओवादीका ४ सभासद्ले खर्च पाउने ४० लाख रुपैयाँमध्ये पार्टी सम्बद्ध भवन तथा पार्क निमार्णमा ६ लाख २५ हजार रुपैयाँ बाँडेका छन् । त्यस्तै पार्टीका युवा तथा महिला कार्यकर्तालाई विभिन्न शीर्षकमा नौँ लाख २५ हजार रुपैयाँ बाँडेका छन् ।
काँग्रेसका दुई सभासदले सदरमुकाममा पार्टी कार्यालय बनाउन सात लाख दिएका छन् । त्यस्तै महिला तथा युवा कार्यकर्तालाई विभिन्न नामका समूह बनाएर ६ लाख ५० हजार बाँडेका छन् । नेपाल परिवार दलका अध्यक्ष समेत रहेका सभासद एकनाथ ढकालले आफ्नै गाउँमा ६ लाख रुपैयाँ दिएका छन् ।