अपहेलना विधेकयकका प्रावधानप्रति प्रचण्डको आपत्ति

काठमाण्डु टुडे २०७१ असार १३ गते १४:४३ मा प्रकाशित

विराटनगर, १३ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारद्वारा संसदमा दर्ता गराइएको अदालतको अपहेलनासम्बन्धी विधेकयका प्रावधानप्रति आपत्ति जनाएका छन् ।
prachanda
विधेयकले नागरिकको मौलिक हकमा अंकुश लगाउन खोजेको भन्दै उनले उक्त विषय आफूहरुका लागि स्वीकार्य नहुने बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विधेयकबारे सदनमा गम्भीर बहस हुने र आफूहरुले कुनै हालतमा पारित हुन नदिनेमा आश्वस्त तुल्याए ।

‘विधेयक जनताको मौलिक हकमा अंकुश लगाउने मनसायका साथ आएको छ’, प्रचण्डले भने, ‘संसदभित्र गम्भीर बहस हुन्छ, हामी कुनै हालतमा पारित हुन दिन्नौं ।’ अर्को एक फरक प्रसंगमा उनले १२ बुँदे समझदारी, अन्तरिम संविधान तथा शान्ति सम्झौताको मर्म र भावनाअनुसार संविधान बनाउन दबाब दिने उद्देश्यले माओवादी धारका पाँच पार्टीबीच कार्यगत एकता गरिएको उल्लेख गरे ।

प्रचण्डले पार्टीभित्र विवाद नभई बहस भएको बताए । पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा प्रचण्ड नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठका साथ विराटनगर पुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us