आन्दोलनका कारण दश चौपाया मरे

काठमाण्डु टुडे २०७१ असार १३ गते १२:५३ मा प्रकाशित

कावासोती, १३ असार – पशु स्वास्थ्यकर्मीको आन्दोलनका कारण समयमा उपचार नपाएर नवलपरासीमा १० चौपाया मरेका छन् ।

पशु उपचार सेवा बन्द गरी पशुचिकित्सकहरु आन्दोलनमा उत्रिएपछि उपचार नपाएर बिरामी पशु मर्नाका साथै पशु चौपायामा देखिएको रोगको उपचार हुन नसक्दा सङ्क्रमणको सम्भावना बढेर गएको छ ।

नौसूत्रीय माग राखेर पशुस्वास्थ्यकर्मी सङ्गठन र नेपाल पाराभेटरिनरी एन्ड लाइभस्टक एसोसियसन आबद्ध सदस्य आन्दोलनमा उत्रेका छन् । आफ्नो माग पूरा गराउन प्राविधिकले किसानमारा नीति लिएको भन्दै किसानले रोष प्रकट गरेका छन् ।

दश दिनदेखि भएको आन्दोलनका कारण सबैभन्दा बढी मुकुन्दपुरमा मात्र चार गाई मरेका छन् । मुकुन्दपुर नेपालमै उन्नतजातका गाईपालन हुने र सबैभन्दा बढी दूध उत्पादन हुने गाविसका रुपमा लिइन्छ । जिल्लामा १५२ पाराभेटनरी प्राविधिकले कार्यालयसहित गाउँ गाउँमा गएर पशु चौपायाको सेवा दिँदै आएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us