सिँचाइ आयोजनाबाट कृषक लाभान्वित

काठमाण्डु टुडे २०७१ जेठ ३ गते ६:१० मा प्रकाशित

कञ्चनपुर, ३ जेठ– गरिबी निवारण कोषको सहयोगमा कञ्चनपुरको कृष्णपुर– ४ बयलकुन्डी मुक्तकमैया शिविरमा करिब रु ३० लाखको लागतमा तीन वटा सिँचाइ आयोजना निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

मुक्तकमैया परिवारको तरकारीखेतीका माध्यमबाट आर्थिक अवस्थामा सुधार ल्याउन कोषले सिँचाइ आयोजना निर्माण गरेको हो । कोषका कार्यक्रम सञ्चालक टेकबहादुर बुढाका अनुसार सागर सिँचाइ आयोजनाका लागि कोषको रु पाँच लाख ३१ हजार, रु एक लाख १९ हजार बराबरको स्थानीय बासिन्दाको श्रमदान गरी रु ६ लाख ५१ हजारमा भूमिगत सिँचाइ आयोजना निर्माण गरिएको छ ।

यसैगरी, शुक्लाफाँटा सिँचाइ आयोजनाका लागि कोषको रु छ लाख १७ हजार, स्थानीयको श्रमदान रु दुई लाख ५४ हजार गरी रु आठ लाख ७१ हजार, एकता सिँचाइ आयोजनाका लागि कोषको रु छ लाख ७२ हजार, श्रमदान रु एक लाख ४६ हजार गरी रु आठ लाख १८ हजार र बयलकुन्डी सिँचाइ आयोजनाका लागि कोषको रु छ लाख ९० हजार, श्रमदान रु ९६ हजार गरी रु छ लाख ६२ हजारको लागतमा सिँचाइ आयोजना निर्माण गरिएका छन् ।

निर्माण भएका सिँचाइ आयोजनामा सिँचाइ कुलो, पम्पसेट, बोरिङ जडानलगायतका कार्य गरिएका छन् । स्थानीय पल्टा खुनाले खेतमा सिँचाइ सुविधा पुगेपछि तरकारीखेती गर्न सहज भएको बताए ।

सिँचाइ सुविधाले यहाँका १०५ घरघुरी लाभान्वित भएका छन् । सिँचाइ सुविधा यहाँका मुक्तकमैयाको ४० बिघा खेतमा पुगेको छ । गरिबी निवारण कोषकै रु सात लाख ८६ हजारको लागतमा तरकारी सङ्कलन केन्द्र र बीउबिजन, मलखादलगायतको व्यवस्था गर्नका लागि कोषले यहाँका मुक्तकमैयाका समुदायिक संस्थालाई घुम्ती कोषका रुपमा रु १० लाख ९० हजार रकमसमेत उपलब्ध गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us