एडिबीद्वारा करिब रु तीन अर्ब ऋण सहयोग

काठमाण्डु टुडे २०७१ जेठ २ गते १२:३३ मा प्रकाशित

काठमाण्डु, २ जेठ – समुदाय व्यवस्थित सिञ्चित कृषि क्षेत्र आयोजनाको कार्यान्वयनका लागि रु दुई अर्ब ८७ करोड ३० लाख (३० मिलियन अमेरिकी डलर) ऋण सहयोग गर्न एसियाली विकास बैंक(एडिबी) सहमत भएको छ ।

adbउक्त आयोजना ७७ वटा कृषक व्यवस्थित सिञ्चित प्रणालीमार्फत पूर्वी तथा मध्यमाञ्चल विकास क्षेत्रका ३५ जिल्लामा कार्यान्वयन हुने जनाइएको छ ।

कुल ३८.३ मिलियन अमेरिकी डलरको उक्त आयोजनामा एडिबीले ३० मिलियन अमेरिकी डलर, नेपाल सरकारको ७.५ मिलियन अमेरिकी र बाँकी ०.८ मिलियन अमेरिकी डलर समुदायबाट उपलब्ध हुने जनाइएको छ ।

अर्थमन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखा प्रमुख मधुकुमार मरासिनी र एडिबीका देशीय निर्देशक किनिचि योकोयामाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

उक्त आयोजनाको कार्यान्वयनपछि मध्यमखालका कृषक व्यवस्थित सिञ्चित प्रणाली तथा आयोजनाले कृषि उत्पादनमा ३० प्रतिशतले वृद्धि भई त्यस क्षेत्रको जीवनस्तरमा सुधार आउने विश्वास लिइएको छ ।

सो अवसरमा महाशाखा प्रमुख मरासिनीले सो योजना पूरा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सम्बन्धित निकायलाई निर्धारित समयमा आयोजना सफल गर्न निर्देशन दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us