बढ्दो तापक्रमले उत्पादनमा कमी

काठमाण्डु टुडे २०७१ जेठ २ गते १२:२८ मा प्रकाशित

हेटौँडा, २ जेठ – तापक्रम बढ्नाले मकवानपुर जिल्लाको विभिन्न गाविसमा स्थानीय कृषकले लगाएको उन्नत मकैको बिरुवा सुक्न थालेकाले ती कृषक अहिले चिन्तित भएका छन् ।

अहिले बढ्दो तापक्रमको प्रभावले उन्नत मकैखेतीमा करिब २५ प्रतिशतसम्म क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी सुक्खा मौसमको प्रभावले जिल्लाका विभिन्न गाविसमा स्थानीय कृषकले लगाएको चैते धानबालीलाई पनि करिब १८ प्रतिशतसम्म क्षति पुगेको सो कार्यालयको एक तथ्याङ्कले जनाएको छ ।

जिल्लाका विभिन्न गाविस तथा हेटौँडा नगर क्षेत्रमा स्थानीय कृषकले उन्नत जातको मकै, रामपुर कम्पोजिटर लोकल जात तथा हाइब्रिड ११३४ जातको मकैको खेती लगाएका छन् ।

मकवानपुर जिल्लामा कुल २४ हजार ९७० हेक्टर खेत र बारीमा कृषकले उन्नत मकैखेती लगाएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत काशीराज हमालले बताए ।

मकवानपुरका विभिन्न स्थान तथा हेटौँडामा आज ३९ डिग्री तापक्रम रहेको मकवानपुर उद्योग वाणिज्य सङ्घको सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us