
विराटनगर, १ जेठ – पूर्वान्चल क्षेत्रभित्र सञ्चालन भएका गुट्खा उद्योगले स्विट सुपारी बिक्री वितरणमा अन्तःशुल्क छलिरहेको पाइएको छ ।
राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले विराटनगर–१२ स्थित विशाल केमिकल प्रोडक्ट उद्योगमा आज छापामारी सम्पूर्ण कागजात नियन्त्रणमा लिई उद्योगमा ताला लगाएपछि स्विट सुपारी बिक्री वितरणमा राजस्व छलेको रहस्य खुलेको हो ।
उक्त उद्योगमा बिना स्टिकरको स्विट सुपारी उत्पादन भएको र गोदाममा तयारी मालसमेत फेला परेको सो कार्यालयले जनाएको छ ।
सो उद्योगले आफ्नो उत्पादनमा स्टिकर नलगाइकनै बजारमा स्विट सुपारी बिक्री वितरण गर्दै आएको सूचना प्राप्त भएपछि क्षेत्रीय राजस्व अनुसन्धान कार्यालय इटहरीले उद्योगमा छापा मारेका थियो ।
नेपाल सरकारले यसभन्दा अगाडि गुट्खामा मात्र अन्तःशुल्क कर लगाएको थियो तर आन्तरिक राजस्व विभाग काठमाडाँैले देशभरिका स्विट सुपारी उत्पादन गर्ने उद्योगलाई गत फागुन मसान्तसम्ममा लागू हुने गरी स्विट सुपारी उद्योग अन्तःशुल्कमा दर्ता हुनुपर्ने नियम लागू गरेपछि विभागले देशभरिका त्यस्ता उद्योगलाई अन्तुःशल्क बुझाउनुपर्ने निर्देशन दिएको थियो ।
यसरी बिक्री गर्ने उत्पादनमा मुस्कान सुपारी, पिङ्की सुपारी, कुबर सुपारी, सेम्वहारलगायत उत्पादित सुपारी राजस्व छली गरेर गैरकानुनी तरिकाले खुलेआम बजारमा बिक्री वितरण भइरहेको पाइएको बताइएको छ ।
राज्यले यतिबेला स्विट सुपारीलाई अन्तःशुल्कमा लगेर प्रतिकेजी रु २७५ कर तिर्नुपर्ने प्रावधान राखेको आन्तरिक राजस्व कार्यालयका एक अधिकृतले बताए ।
यसअगाडि मधु गुट्खामा मात्र अन्तःशुल्क लागू गरिएको थियो । उक्त विषयमा विशाल केमिकलका सञ्चालकसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।