
इलाम, १ जेठ – जिल्लाको उत्तरी क्षेत्रमा किसानले लगाएको व्यावसायिक जडीबुटीबाट यो वर्ष रु तीन करोड ९५ लाख आम्दानी गरेका छन् । बर्सेनि खेती विस्तार गरेर किसानले यसबाट मनग्य आम्दानी गर्न थालेका हुन् ।
यस वर्ष पा“च हजार ९०५ किलोग्राम अर्गेली (लोक्ता) निकासी भएको छ । जापानी ऐन तथा काँचो कागज बनाउन प्रयोग गरिने अर्गेलीबाट किसानले राम्रो आम्दानी गरिरहेका छन् । अर्गेली रु ८० प्रतिकिलोका दरले बिक्री भइरहेको छ ।
त्रिचालीस हजार १६८ किलो चिराइतो बिक्री भएको छ । चिराइतो रु ७०० प्रतिकिलोका दरले बिक्री भएको जिल्ला वन कार्यालयले जनाएको छ । यसवर्ष मात्रै चिराइतो बिक्रीबाट उत्तरी भेगका किसानले रु तीन करोड २३ लाख ८९ हजार ५०० आम्दानी गरेका छन् । यसको बीउ बिक्रीबाट समेत रु ५० लाखभन्दा बढी आम्दानी भएको सुलुबुङका युवराज पौडेलले बताए ।
रु पाँच लाख २९ हजार बराबरको लौठसल्ला बिक्री भएको कार्यालयले जनाएको छ । क्यान्सरको औषधि बनाउन प्रयोग गरिने लौठसल्ला प्रतिकिलो रु १०० मा बिक्री भएको छ । किसानले नागबेलीको धुलो सङ्कलन गरेर बिक्री गरेका छन् । यस्तै १५० किलो नागबेलीको धुलो निकासी गरी रु पाँच लाखभन्दा बढी आम्दानी भएको छ । यसको धुलो रु ५०० प्रतिकिलोका दरले बिक्री हुने गरेको उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका प्रमुख धनबहादुर खाम्दाकले जानकारी दिए ।
चार हजार ५११ किलो मजिटो, एक हजार १०० किलो चुथ्रो र आठ हजार चार सय किलो जमाने मान्द्रोको बोक्रा बिक्री भएको छ । गाउ“घरमा कुनै प्रयोजनमा नआउने चुथ्रो र जमाने मान्द्राको बोक्रा पनि निकासी हुने गरेको किसान बताउँछन् ।