
नुवाकोट, ३१ वैशाख– नुवाकोट जिल्लामा पछिल्लो समय होटलमा लगानी गर्ने क्रम बढेको छ ।
गल्छी– त्रिशूली स्याफ्रुवेसी सडक स्तरोन्नतिसँगै नुवाकोटमा होटल तथा रेस्टुरेन्टमा लगानी थपिने क्रम बढेको हो । सडकको स्तरोउन्नतिसँगै नुवाकोटमा मात्र नौ करोडको लगानीमा सातवटा होटल तथा रेष्टुरेन्ट थपिएको छ ।
बहुचर्चित गल्छी–त्रिशूली स्याफ्रुवेसी रसुवागढी नाका सञ्चालनको तयारीसँगै जिल्लामा गुणस्तरीय होटल सञ्चालन गर्ने क्रम पनि बढेको छ । पहिला होटल खोज्दै हिंड्नुपर्ने बाध्यता अहिले टरेको मात्र छैन, लगानी समेत भित्रिएको छ ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ नुवाकोटका अध्यक्ष सन्तोष उप्रेती नुवाकोटमा होटल निर्माणसँगै गुणस्तरीयतासमेत वृद्धि भएको बताए ।
अधिकांश होटलले ग्राहकलाई आकर्षित गर्न होटलमा वाइफाइ इन्टरनेट सेवासमेत दिएका छन् । यो सेवा पर्यटक आकर्षण गर्नका लागि प्रभावकारी रहेको होटल व्यवसायीको भनाइ छ ।
काठमाण्डुृबाट नजिकै भएका कारण आन्तरिक पर्यटकको भ्रमणको रोजाईमा नुवाकोट पर्ने गरेको र त्यसको प्रत्यक्ष फाइदा नुवाकोटका होटल, रेष्टुरेन्ट तथा रिसोर्टहरूले लिने गरेको उप्रेती बताउँछन् ।
देशको तेस्रो गन्तव्य मार्ग लाङटाङ प्रवेश गर्ने पासाङल्हामु मार्ग भएकाले नुवाकोटको विदुर, बट्टार, ढुङ्गे क्षेत्र होटल खोल्ने ट्रान्जिट प्वाइन्टको रुपमा विस्तार भइरहेको छ ।
अहिले जिल्लामा १७ वटा गुणस्तरीय होटल सञ्चालनमा छन् । गुणस्तरीय होटलमा वाइफाइसहितको इन्टरनेट, एसी तथा सभा सेमिनार गर्न सकिनेलगायतको सुविधा उपलब्ध छ ।