पशुपंक्षीपालनमा कमी आएको कृषि मन्त्रालयको तथ्याङ्क

काठमाण्डु टुडे २०७१ वैशाख ३० गते ११:१२ मा प्रकाशित

काठमाण्डु , ३० वैशाख – कृषि विकास मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७०÷७१ को तथ्याङ्क अनुसार पशुपंक्षीपालनमा कमी आएको देखिएको छ ।

poultry

मन्त्रालयको प्रारम्भिक अनुमानअनुसार गत वर्षको तुलनामा गाईगोरु, भैँसीराँगा, कुखुरा, हाँसलगायतको उत्पादकत्वमा कमी आएको छ ।

यद्यपि, बाख्रा, सुँगुर, बङ्गुर उत्पादनमा भने गत वर्षको तुलनामा क्रमशः ४.०२, ५.०६, र ३.७९ प्रतिशतले वृद्धि आएको सो तथ्याङ्कमा उल्लेख छ ।

देशका विभिन्न जिल्लाबाट जिल्ला कार्यालय, क्षेत्रीय तथा केन्द्रीय निर्देशनालय एवम् विभागमार्फत क्षेत्रगत निरीक्षण र प्राविधिक समितिको राय सुझावका आधारमा सो तथ्याङ्क सार्वजनिक गरिएको मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुईंटेलले जानकारी दिए ।

विश्व खाद्य कार्यक्रम एवम् खाद्य तथा कृषि सङ्गठन (एफएओ) नेपाल र कृषि विकास मन्त्रालयबीच भएको सहमतिअनुसार मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा गत वर्षको तुलनामा राँगाभँैसीको सङ्ख्यामा १.८९ प्रतिशत र गाईगोरुको सङ्ख्याका १.१७ प्रतिशतले कमी आएको देखिन्छ ।

त्यस्तै गत वर्षको तुलनामा कुखुरापालनमा ४.६७ प्रतिशत, अन्डा उत्पादनमा ४.७५ प्रतिशत र भेडापालनमा २.५१ प्रतिशतले कमी आएको सहप्रवक्ता लुर्इंटेलले बताए ।

गत वर्ष मुलुकभर फैलिएको बर्डफ्लु र उत्पादनको तुलनामा बढ्दो मासुको मागका कारण अधिकांश पशुपक्षीको उत्पादनमा कमी आएको मन्त्रालयको दाबी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us