
काठमाण्डु, २७ वैशाख– एकीकृत माओवादी नेता पोष्टबहादुर बोगटीले विराटनगर राष्ट्रिय सम्मेलन बहिस्कार गरेको नेता बाबुराम भट्टराई पक्षधरलाई पार्टीबाट भाग्न नदिने बताएका छन् ।
बोगटीले विगतमा जनतामा गरेको बाचा भुलेर भट्टराई पक्ष पार्टीबाट बाहिरिन नसक्ने बताए । ‘उहाँहरु (भट्टराई पक्ष) लाई सजिलै पार्टीबाट बाहिरिन दिंदैनौं’, काठमाण्डु टुडेसँग बोगटीले भने, ‘हामीलाई विश्वास छ उहाँहरु पार्टी छाड्नु हुन्न ।’
बोगटीले पार्टी फुटाउन भट्टराई पक्षका लागि त्यति सहज नभएको र आधार पनि तयार भइनसकेको बताए । उनले भट्टराईले पार्टीभित्र एउटा र बाहिर अर्कैथरि कुरा गर्दै हिंडेकाले उनी अन्तरद्वन्द्वका शिकार भएको टिप्पणी गरे ।
बोगटीले विराटनगर सम्मेलनको म्याण्डेटअनुसार केन्द्रीय समितिमा थप गर्ने ५२ जनामा भट्टराई पक्षलाई स्थान दिएर जाने सहमति भइसकेकाले विवाद छिट्टै अन्त्य हुने दाबी गरे । अर्को एक फरक प्रसंगमा उनले भट्टराई पक्षले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्टालिन पन्थीको आरोप लगाएकामा भने आक्रोश पोखे ।
उनले प्रचण्डले नेतृत्व सम्हालेदेखि पार्टीमा एकता कायम गर्दै आएको र नेता भट्टराईलाई समेत संरक्षण गर्दै आएकाले स्टालिनपन्थी भन्न नमिल्ने उल्लेख गरे ।
‘अध्यक्ष (प्रचण्च) लाई स्टालिनपन्थी भन्नु उहाँहरुको दृष्टिभ्रम हो’, बोगटीले भने, ‘कतिपय साथीहरुले बुद्धिजिवीहरु अवसरवादी हुन्छन्, बाबुरामलाई केन्द्रीय समितिमा नल्याऔं भनेका थिए, तर अध्यक्षले त्यसलाई मान्नुभएन ।’