
विराटनगर, २६ वैशाख– एकीकृत माओवादीको विराटनगरमा केही दिनअघि सम्पन्न राष्ट्रिय सम्मेलन बहिस्कार गरेका बाबुुराम भट्टराई पक्षधर एक नेता पार्टीको मोरङ जिल्ला कमिटी बैठकमा सहभागी हुन गएपछि हंगामा भएको छ ।
भट्टराईसँगै केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका नेता कुमार पौडेल जिल्ला कमिटी बैठकको अध्यक्षता गर्न गएपछि केही सदस्यले उनीविरुद्ध नाराबाजी समेत गरेका छन् ।
विराटनगर तीनपैनीस्थित कोचिला राज्य समिति कार्यालयमा बसेको जिल्ला कमिटी बैठकमा अध्यक्षता गर्न भन्दै पौडेल पुगेपछि जिल्ला नेताहरु गणेश उप्रेती, खेम भट्टराई, दीनानाथ तिमल्सिना, विजय चौधरी, नमिता न्यौपाने, अर्जुन ऋषिदेव र योगेश भण्डारीसहित १५ जना जिल्ला सदस्यले बैठक बहिस्कार गरेका छन् । उनीहरुले केन्द्रीय समितिमा बस्न इन्कार गरेका पौडेलको उपस्थितिमा कसरी बैठक बस्ने भन्दै प्रश्न गरेका छन् ।
पौडेल पार्टी केन्द्रीय सदस्य हो वा होइन भन्ने स्पष्ट नभएसम्म बैठकमा सहभागी नहुने बताएका छन् । गत वैशाख ९ र १० गते विराटनगरमै भएको जिल्ला सम्मेलनले ३८ जना जिल्ला सदस्य चुने पनि अध्यक्ष चयन भएको थिएन । पौडेल मोरङबाटै राष्ट्रिय सम्मेलनको प्रतिनिधि चुनिएका थिए । जिल्ला अध्यक्ष चुन्न बसेको बैठक १५ जनाले बहिस्कार गरेपछि अन्यौलमा परेको छ ।
पूर्वजिल्ला इन्मार्जसमेत रहेका पौडेल पुग्नुअघि जिल्ला कमिटीका ज्येष्ठ सदस्य गोपाल कटवालले बैठकको अध्यक्षता गर्ने तयारी थियो । जिल्ला अध्यक्षमा पूर्वराज्यमन्त्री अध्यक्षमा गोपी अछामीसहित तीन जनाको दाबी छ ।