विराटनगर, २५ वैशाख – दुई हप्तादेखि विराटनगर उपमहानगरपालिका क्षेत्रमा कमलपित्त रोगबाट हालसम्म नौ जनाको मृत्यु हुनाका साथै छ हजारभन्दा बढी व्यक्ति बिरामी भएका छन् ।
खानेपानी संस्थानद्वारा उपलब्ध गराइएको दूषित पानी र बासी सडेगलेका खानाको प्रयोग र सरसफाइको कमीले एक्कासि फैलिएको रोगबाट करिब ८० जनाको अवस्था गम्भीर रहेको आज यहाँ आयोजित एक कार्यक्रममा चिकित्सकद्वारा जानकारी दिइएको छ । पैंतीसभन्दा बढी बिरामीलाई विभिन्न अस्पतालका सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ । ती बिरामीलाई वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले पनि भेटी स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।
नेपाल चिकित्सक सङ्घ कोसी अञ्चल शाखाद्वारा महामारीका रुपमा फैलिएको सो रोगको रोकथामका सम्बन्धमा चिकित्सकसँग आज यहाँ आयोजित छलफलमा रोगको नियन्त्रणका लागि सरकारले यथाशीघ्र ध्यान नदिए ठूलो क्षति हुने बताइयो । विराटनगरका सरकारी, गैरसरकारी क्लिनिक, नर्सिङ होम, होमियोपेथिक र आयुर्वेदिक औषधालयमा हेपाटाइटिस रोगको उपचार गराउनेको भिड लागेको र यस्तो अवस्थामा पनि जनस्वास्थ्य कार्यालय मोरङ, क्षेत्रीय स्वास्थ्य निर्देशनालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कुनै खास चासो नदेखाएको कोसी अञ्चल अस्पताल विराटनगरका डा दीपक सिग्देलले बताए ।
सरकारी, गैरसरकारी अस्पताल र नर्सिङ होममा उपचार गराउनका लागि दुई हप्तादेखि दैनिक ५०० व्यक्ति आउने गरेको र तीमध्ये ४०० को जाँचका क्रममा उक्त रोग पाइएको भए पनि तिनीहरुको उपचारका लागि खासै सरकारी छुट र सुविधा नभएको उनको भनाइ छ ।