काठमाण्डु, २५ वैशाख – व्यवस्थापिका संसद् व्यवस्थापिका संसद् अन्तरगतको संसदीय सुनुवाइ विशेष समितिको बैठक बसिरहेको छ ।
बैठकमा सभासदहरुले न्यायपरिषदको निर्णय नै शंकास्पद रहेको भन्दै त्यहीं फिर्ता पठाउनुपर्ने बताएका छन् । जारी बैठकमा न्यायपरिषदले सिफारिस गरेका ८ न्यायाधीशविरुद्ध परेका उजुरीमाथि छलफल भइरहेको छ । विवादित बनेको सिफारिस प्रक्रियालाई कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
छलफलमा विवादमा परेका न्यायाधीशहरुलाई सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनाउन नहुनेमा सत्तारुढ एमाले र विपक्षी एकीकृत नेकपा माओवादीको एकमत छ भने कांग्रेसले प्रक्रियागत रुपमा आएका विषयमा धेरै टीकाटिप्पणी गर्न जरुरी नभएको प्रतिक्रिया दिएको छ ।
न्यायपरिषदले सिफारिस गरेका ८ न्यायाधीशका बारेमा परिषदमै एकमत नभएको, उनीहरुको कार्य विवादित रहेको भन्दै स्थायी न्यायाधीशमा नियुक्त नगर्न दबाब बढेको हो ।