लुक्लामा उडान रोकियो

काठमाण्डु टुडे २०७१ वैशाख २५ गते १:५५ मा प्रकाशित

lukla_airportसोलुखुम्बु, २५ वैशाख – वैशाख ५ गते हिमपहिरोका कारण भएको दुर्घटनापछि आरोहण त्यागेर फर्कन बाध्य पर्यटकहरु लुक्लामा पुन रोकिएका छन् ।

मौसम खराबीका कारण विगत पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटकहरु लुक्लामा रोकिएका हुन् । एकातिर आरोहण त्याग्नु परेको चोट अर्कातिर मौसमका कारण लुक्लाबाट उडान नहुँदा पर्यटकहरु समस्यामाथि समस्यामा परेका हुन् ।

अहिले सगरमाथाबाट फर्केका थुप्रै पर्यटक मौसम सुधार भएर फर्कने आशामा लुक्लामा बसिरहेका छन् । केहीलाई हेलिकोप्टरले काठमाडौँ लगेको भए पनि हेलिकोप्टरसमेत राम्रोसँग सञ्चालन हुन नसक्दा थुप्रै पर्यटक लुक्लामा रोकिएका छन् ।

तारा एयरलाइन्स लुक्लाका स्टेसन इन्चार्ज फुनुरु शेर्पाका अनुसार लगातार उडान प्रभावित हुँदा सयाँै यात्रु लुक्लामा जहाजको प्रतीक्षामा बसेका छन् । ‘यति सङ्ख्यामा भन्ने यकिन नभए पनि सगरमाथा आधार शिविरबाट आएका थुप्रै पर्यटक रोकिएका छन्, दैनिक विमानस्थल आएर मौसम खुल्ने आशामा हुन्छन् तर मौसममा सुधार भएको छैन’ शेपाले भने ।

सीता एयरलाइन्स, सिम्रिक, नेपाल एयरलाइन्स र तारा एयरलाइन्सले तय गरेका सम्पूर्ण उडान पाँच दिनदेखि प्रभावित भएको इन्चार्ज शेर्पाले जानकारी दिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us