विराटनगर, २४ वैशाख– सरकारको गति सुस्त भएको टिप्पणी भइरहेका बेला प्रधानमन्त्री सुशील कोइरालाले सरकार चलाउन गाह्रो परिरहेको बताएका छन् ।
इलाममा आयोजित एक धार्मिक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्ता साझेदारको चित्त बुझाएर सरकार चलाउन अप्ठेरो भएको बताए ।
‘तीन/चार वटा पार्टी मिलाएर संयुक्त सरकार चलाउँदा मलाई गाह्रो भएको छ’, कोइरालाले भने, ‘अभ्यासमा क्रममा यस्तो हुन्छ ।’ कोइरालाले सरकारको पहिलो प्राथमिकता एक वर्षमा मुलुकलाई नयाँ संविधान दिनु रहेको बताए ।
उनले संविधानसभाबाहिर रहेका मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलगायतका दललाई पनि संविधान निर्माणमा सहभागी गराउन पहल भइरहेको उल्लेख गरे । अर्को एक फरक प्रसंगमा कोइरालाले आगामी मंसिरमा संविधानसभा निर्वाचन हुने दाबी गरे ।
त्यसका लागि सरकारले गृहकार्य थालेको जानकारी दिए । स्थानीय निकाय जनप्रतिनिधि विहीन हुँदा विकास आयोजनाका रकममा अनियमितता हुने गरेको उनको भनाइ छ ।