बाबुराम भट्टराईको हैसियत एमाअाेवादी साधारण सदस्य

काठमाण्डु टुडे २०७१ वैशाख २४ गते १२:१९ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख– एकीकृत माओवादीको राष्ट्रिय सम्मेलन बहिस्कार गरेका बाबुराम भट्टराईसहित सो पक्षका नेता पार्टीको साधारण सदस्यका हैसियतमा बस्ने baburam_250भएका छन् ।
भट्टराई पक्षका नेता टोपबहादुर रायमाझीले आफूहरु पार्टी नछाड्ने स्पष्ट गर्दै साधारण सदस्यका हैसियतमा सक्रिय हुने बताए । ‘यो पार्टी बनाउनमा हाम्रो पनि भूमिका छ’, काठमाण्डु टुडेसँग रायमाझीले भने, ‘बाबुरामजीसहित हामी सबै साधारण सदस्य भएर पार्टी पुननिर्माणको काममा लाग्र्छौं ।’

उनले पार्टीभित्र भिन्न मतको सम्मान गर्ने संस्कृति विकास नभएसम्म केन्द्रीय समितिमा नबस्ने दोहोर्‍याए । विराटनगरमा मंगलबार सम्पन्न राष्ट्रिय सम्मेलनबाट चुनिएको केन्द्रीय समितिमा आफ्नो पक्षलाई सम्मानजनक स्थान नदिइएको भन्दै भट्टराई पक्षले सम्मेलन बहिस्कार गरेको थियो ।

रायमाझीले विशेष महाधिवेशनसम्म तलै बसेर मुलुकमा विद्यमान राजनीतिक संकट टार्न पार्टीभित्र नयाँ विचार र नया कार्यदिशा निर्माणको पहलमा जुट्ने जानकारी दिए । अध्यक्ष प्रचण्डले युद्धकालीन विचार र संस्कृति बोकेको संगठन बनाउन खोजेकाले आफूहरु केन्द्रीय समितिमा नबसेको रायमाझीको भनाइ छ ।

प्रचण्ड पक्षले फरक विचार राख्ने र नयाँ ढंगको पार्टी बनाउन खोज्ने नेतालाई निषेध गर्न खोजेको आरोप उनको छ । प्रचण्डले पार्टी हाँक्न सक्ने सक्षम नेतृत्वको टिम निर्माणभन्दा समर्थकहरुको भिड जम्मा पार्न खोजेको  टिप्पणी उनले गरे ।

‘मुलुकको वस्तुगत आवश्यकता पूर्ति गर्न नयाँ पार्टी चाहिएको छ’, रायमाझीले भने, ‘तर अध्यक्षले युद्धकालीन विचार र संस्कृति बोकेको संगठन निर्माण गर्न खोज्नुभयो, त्यसले निकास दिंदैन भनेर हामी हिंडेका हौं ।’

आफूहरुले पदका लागि नभई पार्टी संचालनको नयाँ विधि र विचार निर्माणका लागि बसह थालेको दाबी रायमाझीले गरे । ‘मुलुक संकटमा छ । कसैले निकास दिन सकेका छैनन् । सबै पार्टीमा विवाद छ हाम्रो पनि छ, विधि र विचारका आधारमा विवाद हो ।पदका लागि होइन’, उनले भने ।

अर्को एक फरक प्रसंगमा रायमाझीले एकीकृत माओवादीलाई नै नयाँ शक्तिमा रुपान्तरण गर्न खोजेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us