जिविस सोलुखुम्बुमा राजनीतिक दलको तालाबन्दी

काठमाण्डु टुडे २०७१ वैशाख २४ गते ९:१६ मा प्रकाशित

सोलुखुम्बु, २४ वैशाख– जिल्लामा सक्रिय विभिन्न आठ राजनीतिक दलले जिल्ला विकास समितिको कार्यालय सोलुखुम्बुमा तालाबन्दी गरेका छन् ।
यसअघि वैशाख १९ गते ज्ञापनपत्र बुझाउँदै एक महिनादेखि जिल्लामा नआएका स्थानीय विकास अधिकारीले हिजोसम्म कार्यालयमा हाजिर भएर कार्य सञ्चालन गर्नुपर्ने माग गरेका दलहरुले आफूहरुले दिएको समयावधिसम्म स्थानीय विकास अधिकारी उपस्थित नभएपछि जिविस कार्यालयमा तालाबन्दी गरेका हुन् ।

स्थानीय विकास अधिकारी दिलीपकुमार चापागाईं एक महिनादेखि जिल्लामा नआएपछि सोलुखुम्बुमा सक्रिय आठ राजनीतिक दलको गत वैशाख १८ गते बसेको बैठकले वैशाख २३ गतेसम्म पनि स्थानीय विकास अधिकारी हाजिर भएर कार्य सञ्चालन नगरेमा कार्यालयमा ताला लगाएर थप आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरेको थियो ।

जिल्लामा यस वर्ष प्राप्त भएको रु ३१ करोड ७० लाख र गत वर्ष प्राप्त भएको रु दुई करोड ७५ लाख पर्यटन रोयल्टी विनियोजनका लागि गत चैत १७ गते सर्वदलीय बैठक बोलाएकोमा सोही दिन बैठक छाडेर हिाडेका स्थानीय विकास अधिकारी त्यसपछि मन्त्रालयले बोलाएको भन्दै काठमाण्डु हिंडेका थिए ।

दलका नेता तथा कार्यकर्ताहरु बुधबार बिहान ९:४५  बजे जिविस कार्यालयमा ताला लगाएर त्यहीं अगाडि धर्ना बसेका छन् । उनीहरुले आफ्ना विभिन्न १३ बुादे माग अघि सारेर ती माग पूरा नभएसम्म जिविसमा ताला लगाएर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरुको मागमा स्थानीय विकास अधिकारी तत्कालै हाजिर हुनुपर्ने, पर्यटन रोयल्टी तथा अन्य विकासका योजना विनियोजन तथा कार्यान्वयन तत्कालै दलहरुको उपस्थितिमा सुचारु गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता पारदर्शी बनाउनुपर्ने, सचिवहरुलाई गाउँमा राखेर काम गर्नुपर्ने, विकासको योजना रकम भुक्तानी दिँदा रु एक लाखभन्दा कमको खाताबिना भुक्तानी दिनुपर्नेलगायतका रहेका छन् ।

सोलुखुम्बुमा यस वर्ष प्राप्त भएको पर्यटन रोयल्टीबापतको रु ३१ करोड ७० लाख र गत वर्षको रु दुई करोड ७५ लाख गरी कुल ३४ करोड ४५ लाख रकम रहेकाले त्यो रकम आफूहरुले भनेको योजनामा विनियोजन गर्न दलहरुले दबाब दिएका र जिल्लाका सभासद्ले पनि विभिन्न योजनामा विनियोजन गर्न दबाब दिएका कारण त्यो दबाब थेग्न नसकेर स्थानीय विकास अधिकारी मन्त्रालयमा काजमा रहेका जिविस स्रोतले बताएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us