काठमाडौ, २४ बैशाख – नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले आफूहरु को नीति, नेतृत्व र पार्टीले अघि सारेको ६ बुँदे प्रस्तावलाई स्विकारेर आए मात्रै एकीकृत नेकपा माओवादीसँग पार्टी एकीकरण हुन सक्ने स्पष्ट पारेका छन ।
एक कार्यक्रममा उनले भने– नेकपा–माओवादीले अपनाएको नीति, मोहन बैद्य किरणको नेतृत्व र पार्टीको हालै बसेको पोलिटब्यूरो बैठकले अघि सारेको ६ बुँदे प्रस्ताव स्विकारेर आए मात्रै एमाओवादीसँग पार्टी एकता हुन सक्छ । नभए एकता असम्भव छ ।
उनले डा बाबुराम भट्टराईलाई धम्क्याउन प्रचण्डले नेकपा–माओवादीसँग एकताको हावादारी हाल्ला फैलाएको ठोकुवा समेत गरे ।
एमाओवादीको विराटनगर सम्मेलनले हेटौडा महाधिवेशनको नीतिमा कुनै परिवर्तन नगरेकोले एकताको सम्भावना नरहेको बताए । उनले भने –परि थापाले नेतृत्व गरेको नेकपा एकीकृत र मणि थापाले नेतृत्व गरेको क्रान्तिकारी कम्यूनिष्ट पार्टीवीच एकता हुन्छ । एमाओवादीसँग हुँदैन ।
प्रचण्ड र बाबुराम भट्टराई एमाओवादीभित्र सँगै बस्नै नसक्ने ठोकुवा गर्दै उनले उनीहरुवीचको अहिलेको विवाद नीतिको नभई नेतृत्व र पदको मात्रै भएको दावी गरे। गजुरेलले भने–एमाओवादी विघटनको संघारमा पुगेको छ ।
उनले संविधानसभाको निर्वाचन पश्चात मुलुकमा झनै संकट बढेकोले आफूहरुको संविधानसभा विघटनको मागको औचित्य झनै पुष्टि भएको भन्दै मुलुकको
समस्या समाधानको लागि संविधानसभा र सरकार विघटन गरेर सर्वपक्षीय गोलमेच सम्मेलन गरेर निकास निकाल्नु पर्ने माग दोहोर्याए ।
उनले आफू र नेत्र विक्रम चन्दले पार्टी फुटाउने भनि गरिएको प्रचारवाजीकोखण्डन गर्दै पार्टी नफुट्ने बरु अझै एकीकृत हुँदै जाने ठोकुवा गरे ।