बाबुराम भट्टराईबिना केन्द्रीय कार्यसमिति अपूरो हुने – अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०७१ वैशाख २४ गते ६:०५ मा प्रकाशित

baburam-prachanda

विराटनगर, २४ वैशाख – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनले पार्टीलाई पुनःनिर्माण एवम् सुदृढीकरण गर्न सहयोग पुगेको बताएका छन् ।

विराटनगरमा आज बिहान सञ्चारकर्मीसँगको भेटघाटमा अध्यक्ष दाहालले सम्मेलनबाट पार्टीको दस्तावेज र विधान संशोधन एकमतले पारित हुनुले पार्टी बलियो भएको बताए ।

पार्टी सङ्गठनमा डा बाबुराम भट्टराईबिना केन्द्रीय कार्य समिति अपूरो हुने भएकाले उनलाई चाँडै केन्द्रीय कार्य समितिमा सहभागी बनाउने अध्यक्ष दाहालले बताए । ।

अध्यक्ष दाहालले डा भट्टराईको सहमतिअनुसार केन्द्रीय सदस्य २६९ बाट १५१ बनाई हाल ९९ जना सदस्यको नाम प्रस्ताव गरेको जानकारीसमेत दिए ।

वरिष्ठ नेता डा भट्टराईलाई पाखा लगाउन नभई सशक्त जिम्मेवारी दिन आफू लागि परेकाले उनको रिक्तता केन्द्रीय कार्य समितिमा चाँडै पूर्ति हुने उनले बताए ।

अध्यक्ष दाहालले पार्टीलाई सशक्त र नयाँ गति प्रदान गर्न आफू क्रियाशील भएर लागेकाले राजधानी फर्कने वित्तिकै डा भट्टराईसँग छलफल गरी उनी लगायत अन्य नेताहरुलाई पनि केन्द्रीय कार्य समितिमा सहभागी बनाउने उल्लेख गरे ।

एक प्रश्नको जवाफमा अध्यक्ष दाहालले नेकपा–माओवादीलगायत अन्य कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउन आफूले पहल सुरु गरेको दाबी गरे ।

एक वर्षभित्र मुलुकमा स्थायी शान्ति कायम गर्दै पहिचानसहितको संविधान निर्माण गर्न सबै वामपन्थी शक्ति र परिवर्तनकारी शक्तिबीच मोर्चा आवश्यक रहेकामा उनले जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us