
काठमाण्डु, २२ वैशाख –अस्थायी शिक्षक संघर्ष समितिले आन्दोलनलाई आज पनि जारी राखेको छ ।
आन्दोलनको कार्यक्रम अनुसार आज बिद्यालय बन्दलाई फिर्ता गरी देशैभरका ३० हजार अस्थायी शिक्षकहरुले कक्षा बहिस्कार गर्ने भएका छन् । केन्द्रमा भने प्रमुख दलहरुका पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम तय भएको छ ।
बिहान १० बजे नेपाली काग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिन लागेको छ । त्यसैगरी दिउँसो एक बजे एमाले पार्टी कार्यालय बल्खु तथा एमाओबादीको पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा धर्ना दिने कार्यक्रम रहेको अस्थायी शिक्षक संघर्ष समितीका केन्द्रिय सदस्य अमर क्षितिज भण्डारीले बताए ।
सरकारले अस्थायी शिक्षकका मागका बारेमा सुनुवाइ गर्ने भन्दै बार्तामा बोलाएपछि आज अपरान्ह ४ बजे अस्थायी शिक्षक संघर्ष समिती र सरकारका बिचमा वार्ता हुने तय भएको छ ।
आज हुने वार्ताबाट अस्थायी शिक्षकका मागहरुको सुनुवाइ नभए शिक्षकसंग आवद्ध पेशागत शिक्षक युनियन, शैक्षिक गणतान्त्रीक मन्च तथा अन्य संघ संगठनहरुले देशैभरका बिद्यालय ठप्प पानेगरी आन्दोलनको घोषणा गरिने पनि केन्द्रिय सदस्य भण्डारीले जानकारी दिए ।
आन्तरीक प्रतिस्प्रर्धाबाट सम्पुर्ण अस्थायी शिक्षकहरुलाई स्थायी गरिनु पर्ने, संबैधानिक शिक्षक सेवा आयोग गठन हुनु पर्ने, २०७० असोज १३ गते सरकारसंग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने, शिक्षकहरुलाई कुनै पनि बाहानामा बिस्थापित गर्न नपाइने लगाएतका माग राखी अस्थायी शिक्षक संघर्ष समितीले आन्दोलन गर्दै आएको छ ।