
काठमाण्डु, २३ वैशाख– एमाले अध्यक्ष झलनाथ खनाल १० दिने चीन भ्रमणका सिलसिलामा त्यसतर्फ प्रस्थान गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष खनाल मंगलबार त्यसतर्फ गएका हुन् ।
चीन प्रस्थान गर्नुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँ कुरा गर्दै अध्यक्ष खनालले आफूले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको निरन्तरताका लागि त्यहाँका उच्चस्तरीय नेतासँग छलफल गर्नुका साथै विभिन्न प्रान्तको भ्रमण गर्ने बताए ।
आफू विदेशमा रहेपनि महाधिवेशनलाई असारको १९ गतेदेखि गराउने गरी भएको पछिल्लो निर्णयको कार्यान्वयन र तयारी तथा संविधान लेखनका काममा कुनै बाधा नपर्ने अध्यक्ष खनालले स्पष्ट गरे ।
उनले सरकारको गतिमा सुस्तता आएको गुनासो सुनिए पनि अब २६ जना सभासद्को मनोनयनलगायत संवैधानिक निकाय तथा सरकारी नियुक्तिका क्रम प्रारम्भ हुने बताए । खनालले पार्टी महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने अपेक्षा आफूले गरेको बताए ।
खनालको टोलीमा एमाले नेताहरु वेदुराम भुषाल, परशुमेघी गुरुङ, शेरबहादुर तामाड, चन्द्रबहार शाही, गरिमा शाह, बलराम बाँस्कोटा, मिलन तुलाधर, पद्मा अर्याललगायत छन् । टोलीमा परेपनि सचिव विष्ण्ुा पौडेल भ्रमणमा सहभागी भएनन् ।
टोली आगामी जेठ २ गते स्वदेश फर्कनेछ । अध्यक्ष खनालको बिदाईका लागि उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठलगायत नेता विमानस्थल पुगेका थिए ।