वैद्यले अघि सारे पार्टी एकताका लागि ६ सर्त

काठमाण्डु टुडे २०७१ वैशाख २३ गते १३:५२ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले एकीकृत नेकपा माओवादीसँग एकताका लागि विभिन्न ६ वटा सर्त अघि सारेको छ ।
mohan baidhyaपार्टीको हालै सम्पन्न पोलिट्ब्युरो बैठकका निर्णय सार्वजनिक गर्न अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकताका लागि सर्त अघि सारेका हुन् ।

विज्ञप्तिमा एकीकृत माओवादीलाई संकेत गरिए पनि स्पष्ट रुपमा नाम उल्लेख गरिएको छैन । एमाओवादीतर्फ लक्षित गर्दै पार्टी इतिहासको समीक्षा गर्न र गल्ती, कमी तथा कमजोरी सच्याउन तयार  भए एकता हुन सक्ने भनिएको छ । क्रान्तिकारी कम्युनिष्टहरुसँग पार्टी एकताका लागि भइरहेका वार्ता सकारात्मक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्ने, नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशालाई स्वीकार गर्ने र संसदवादलाई अस्वीकार गर्नेसँग मात्र पार्टी एकता हुन सक्ने नेकपा–माओवादीको अडान छ ।

यस्तै उसले सामाजिक क्रान्ति र रुपान्तरणका लागि बलप्रयोगको भूमिकालाई स्वीकार्ने, पार्टी इतिहासको समीक्षा गर्न र गल्ती, कमी तथा कमजोरीलाई सच्याउन तयार रहने तथा जनवादी केन्द्रीयताको मर्म तथा भावनाअनुरुप सङ्गठन सञ्चालन गर्न राजी भए एकता हुनसक्ने विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

नेकपा–माओवादीले पार्टी एकताका लागि वार्ता गर्ने जिम्मेवारी केन्द्रीय पदाधिकारीलाई दिइएको छ । यस्तै ४ मंसिरको संविधानसभा निर्वाचन बहिस्कार गरेको नेकपा–माओवादीले उप–निर्वाचन पनि बहिस्कार गर्ने भएको छ । बैठकले जेठ मसिहनाभर विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us