प्रेस युनियन अध्यक्ष पोखरेलद्वारा राजीनामा

काठमाण्डु टुडे २०७१ वैशाख २३ गते १३:१६ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख– नेपाली काँग्रेसनिकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले पदबाट राजीनामा दिएका छन् ।
kiran pokhrelनेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनमा युनियनले उठाएको पोषण केसी नेतृत्वको प्यानल पराजित भएकामा नैतिक जिममेवारी लिंदै उनले राजीनामा दिएका हुन् ।

पोखरेलले संगठन प्रमुखका रुपमा महासंघमा केसी प्यानललाई जिताउन नसकेका कारण राजीनामा दिएको बताए । ‘हामीले खडा गरेको लोकतान्त्रिक व्यवसायिक टिमका साथीहरु निर्वाचनमा पराजित भए’, पोरखेलले काठमाण्डु टुडेसँग भने, ‘व्यवसायिक पत्रकारहरुको हारको नैतिक जिम्मेवारी लिंदै राजीनामा दिएको हुँ ।’

निर्वाचनमा अध्यक्ष महेन्द्र बिष्टसहित अधिकांश पदमा बामपन्थी निटक प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी महासंघ र प्रगतिशील पत्रकार संघले खडा गरेका उम्मेदवार निर्वाचित भएका थिए ।

पदाधिकारीसहित ४३ सदस्यीय केन्द्रीय समितिमा युनियनका तर्फबाट समावेशी उपाध्यक्षमा अनिता बिन्दु, खुल्ला सदस्यमा माधव दुलाल, मध्यमाञ्चल सदस्यमा शीतल महतो र लेखा समिति सदस्यमा रञ्जना पौडेल मात्र निर्वाचित भए ।

युनियनबाट महासंघ निर्वाचनको उम्मेवदार चयनमा विवाद भएपछि पोखरेलले निर्वाचनअघि पनि राजीनामा दिएका थिए ।

तर पार्टी सभापति सुशील कोइराला र सञ्चारमन्त्रीसमेत रहेका काँग्रेस नेता मिनेन्द्र रिजालको दबाबमा उनले राजीनामा फिर्ता लिएका थिए । उनले यसपटक भने राजीनामा फिर्ता नहुने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us