विराटनगर, वैशाख २३ – एकीकृत माओवादीको विराटनगर राष्ट्रिय सम्मेलन ८४ सदस्यीय केन्द्रीय समिति चयन गर्दै मंगलबार सकिएको छ ।
प्रतिनिधिले निर्वाचनमार्फत केन्द्रीय समिति चयन गर्न दबाब दिए पनि ‘हेर्डक्वाटर’ ले प्रस्ताव गरेको ८४ जना केन्द्रीय सदस्यलाई बन्दशत्रले अनुमोदन गरेको हो ।
यद्यपि सम्मेलनले केन्द्रीय समिति १ सय ५१ सदस्यीय हुने निर्णय गरेको छ । बाँकी सदस्य पछि थप गरिने प्रवक्ता दीनानाथ शर्माले बताए । आफूहरुलाई सम्मानजनक स्थान नदिइएको भन्दै नेता बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिमा बस्न अस्वीकार गरेको छ ।
बन्द शत्रलाई सम्बोधन गर्दै नेता भट्टराईले सम्मानजनक बाँडफाँड नभएका कारण आफूहरु केन्द्रीय समितिमा नबस्ने घोषणा गरे । उनले केन्द्रीय कमिटिमा नबसे पनि विशेष महाधिवेशनसम्म बाहिरै बसेर पार्टीलाई सघाउने बताए । बन्द शत्रलाई सम्बोधन गरेलगत्तै भट्टराई बाहिरिए ।
उनीसँगै टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हिसिया यमी लगायत सो पक्षका नेताले बन्दशत्र छाडेका थिए । भट्टराई पक्षको बहिस्कारका बाबजुद सम्मेलनले केन्द्रीय समिति चयन गरेको हो ।
यता संस्थापन पक्षले भने १ सय ५१ सदस्यीय समितिका बाँकी सदस्यमा भट्टराई पक्षलाई स्थान दिइने बताएको छ । संविधानसभा निर्वाचनपछि उत्पन्न पार्टी विवाद समाधानका लागि बोलाइएको राष्ट्रिय सम्मेलन थप विवाद जन्माएर सकिएको छ ।
अध्यक्षमा फेरि प्रचण्ड
नवगठित केन्द्रीय समितिको विराटनगरमै बसेको पहिलो बैठकले अध्यक्षमा पुन: पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेकोछ । यस्तै बैठकले केन्द्रीय समितिलाई समन्वय गर्ने गरी अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी र पोष्टबहादुर बोगटी रहेको तीन सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ ।
प्रवक्तामा दीनानाथ शर्मालाई नै निरन्तरता दिइएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिवमा हितराज पाण्डे तथा सदस्यमा डोरप्रसाद उपाध्याय र प्रल्हाद बुढाथोकीलाई दोहोर्याइएको छ ।
को–को छन् केन्द्रीय समितिमा ?
पुष्पकम दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, कृष्णबहाहुर महरा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, दीनानाथ शर्मा, लीलामणि पोखरेल, हरिबोल जगुरेल, शक्ति बस्नेत, अग्नि सापकोटा, जनार्दन शर्मा , हिसिला यमी, चन्द्रप्रकाश खनाल, हेमन्तप्रकाश ओली, गोपाल किराँती, हितराज पाण्डे, राम कार्की, लोकेन्द्र विष्ट, नन्दकिशोर पुन, लेखराज भट्ट, विश्वभक्त दुलाल, विश्नाथ साह, डिलाराम आचार्य, रामचन्द्र झा, उर्मिला अर्याल, शशी श्रेष्ठ, गिरिधारीलाल न्यौपाने, अमर तमु, नारायण दाहाल, ध्रुव पारजुली, गंगा कार्की, सन्तु दराई, गणेशमान पुन, जोखमबहादुर महरा, पुष्पविक्रम मल्ल, हितबहाुदर तामाङ, जगप्रसाद शर्मा, भक्तबहाुदर साह, कालीबहादुर मल्ल, दीपेन्द्र पुन, टेकबहादुर बस्नेत, महेश्वर गहतराज, कमला रोका, तेजबहादुर ओली, ओनसरी घर्ती, झक्कुप्रसाद सुवेदी, डोरप्रसाद उपाध्याय, हरि अधिकारी, कृष्णप्रसाद सापकोटा, टंंक आङबुहाङ, हिमाल राई, कुमार पौडेल, भीमप्रसाद कडायत, केशव नेपाल, डिआर पौडेल, प्रल्हाद बुढाकोथी, जीवन गौतम, हकिकुल्लाह खाँ, अन्जना विसंखे, प्रकाश पोखरेल, ईश्वरी भट्टराई, दिपबहादुर योञ्जन, राजु खड्का, दिनेश पन्थी, रामकुमार शर्मा, धर्मदत्त देवकोटा, रेखा शर्मा, कृष्णध्वज खड्का, महेन्द्रबहादुर साही, झलक दर्लामी, शालिकराम जमकट्टेल, महेन्द्र पासवान, अजयशंकर नायक, भरत साह, अशोक जयसवाल, विमला सुवेदी, सत्या पहाडी, कल्पना धमला, सीता पोखरेल, पूर्णाकुमारी सुवेदी, शिवकुमार मण्डल, विष्णु चौधरी, वीरमान चौधरी, दयाराम न्यौपाने र धनश्याम यादव ।
केन्द्रीय समितिमा बस्न इन्कार गर्ने बाबुराम पक्षका नेता
आफ्नो पक्षलाई सम्मानजनक स्थान नदिइएको भन्दै नेता बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिमा बस्न इन्कार गरेको छ । बन्दशत्रलाई सम्बोधन गर्दै नेता टोपबहादुर रायमाझीले विपक्षीलाई पेल्ने रणनीतिअन्तर्गत एक पक्षीय रुपमा केन्द्रीय समिति चयन गरिएकाले आफूहरु नबस्ने घोषणा गरे ।
रायमझीले बोल्दा अधिकांश प्रतिनिधि बसेको स्थानबाट उठेर हुटिङ गरेका थिए । उनीहरुले राजनीतिक कार्यदिशामा फरक विचार नरहेको बताउने तर केन्द्रीय कमिटिमा बस्दिन भन्नु अराजनीतिक हर्कत भन्दै आपत्ति जनाए । उनीहरुले पार्टी छाडेर भाग्न पाइँदैन भन्दै नाराबाजी गरे ।
आक्रोशित प्रतिनिधिले हुटिङ गरेपछि रायमाझीले सम्बोधन रोकेका थिए । अध्यक्ष मण्डलका अध्यक्ष पोष्टबहादुर बोगटीले हस्तक्षेप गरी बोल्न दिन दिर्नेशन जारी गरेपछि मात्र प्रतिनिधि शान्त भएका थिए ।
केन्द्रीय समितिमा बस्न अस्वीकार गर्नेमा नेता बाबुराम भट्टराईसहित सो पक्षका नेताहरु टोपबहादुर रायमाझी, हिसिला यमी, देवेन्द्र पौडेल, नवराज सुवेदी, प्रभु साह, खिमलाल देवकोटा, बामदेव क्षेत्री, खगराग भट्ट, गंगानारायण श्रेष्ठ, हेमराज भण्डारी, रामरिझन यादव, देवी खड्का र वलावती शर्मा छन् ।
बाबुराम पक्षका भनेर चिनिएका केही नेता भने केन्द्रीय समितिमा बसेका छन् । बाबुराम समूह टाडेर केन्द्रीय समितिमै बस्नेमा राम कार्की, डोरप्रसाद उपाध्याय, कल्पना धमला र भरत साह छन् । उनीहरु संस्थापनमै फर्किएको वा भट्टराई समूहमै छन् भन्ने केही बताएका छैनन् ।