मनोनित २६ सभासद चाँडै चयन हुन्छ – सञ्चारमन्त्री

काठमाण्डु टुडे २०७१ वैशाख २३ गते १०:२२ मा प्रकाशित

काठमाण्डु, २३ वैशाख–  सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) र अन्य राजनीतिक दलसँग छलफल गरेर सहमतिको minendra-rijalआधारमा संविधानसभालाई पूर्णता दिइने बताएका छन् ।

सूचना तथा सञ्चारमन्त्री डा रिजालले मन्त्रिपरिषद्ले मनोनयन गर्ने २६ सभासद्को चयनका लागि चाँडै प्रमुख राजनीतिक दलसँग सहमति गरिने जानकारी दिए । उनले भने, “पहिलो संविधानसभाको जस्तो दुष्परिणाम आउन नदिन र सङ्घीय लोकतान्त्रिक संविधान बनाउने मुख्य जिम्मेवारी पूरा गर्न सहमतिमा जानुपर्छ ।”

वातावरण नबिगारी काम गर्दा केही समय लाग्ने भएकाले सरकारले केही पनि काम गरेन भन्न नमिल्ने उल्लेख गर्दै उनले संविधान निर्माणमा सहयोग गर्नु सरकारको मुख्य जिम्मेवारी भएकाले त्यस विषयमा नै ध्यान दिन सबैलाई आग्रह गरे ।

व्यवस्थापिका–संसद्को वर्षे अधिवेशनलगत्तै सहमतिका आधारमा आर्थिक विकासका लागि आधारशिला तयार गर्ने कार्यमा सरकार लाग्ने उल्लेख गर्दै सञ्चारमन्त्री डा रिजालले जनताको आर्थिक विकास र समृद्धिको चाहना पूरा गर्ने दिशामा सरकार अगाडि बढ्न थालेको बताए ।

उहाँले पछिल्लो समयमा विकास भएका नयाँ सूचना प्रविधि र सूचना तथा सञ्चारको विकासलाई सम्बोधन गर्न राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि नीति र सूचना प्रसारण नीति चाँडै ल्याइने जानकारी पनि दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us