काठमाण्डु, २३ वैशाख– एकीकृत माओवादीले दक्षिण छिमेकी भारतलाई पुन: विस्तारवादी भन्ने भएको छ ।
२०६२/०६३ को जनआन्दोलनपछि शान्तिपूर्ण राजनीतिमा आएयता माओवादीले भारतलाई विस्तारवादी भन्न छाडेको थियो ।
विराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा प्रस्तुत अध्यक्ष ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्तावमा भारतलाई विस्तारवादी किटान गरिने भएको हो ।
सम्मेलनको बन्दशत्रमा समूहगत छलफलबाट आएका सुझावमाथि टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले भारतलाई विस्तारवादी किटान गरेर जाने बताएका हुन् । सममेलनमा सहभागी अधिकांश कार्यकर्ताले भारतलाई विस्तारवादी भन्नुपर्ने दबाब दिएका थिए ।
प्रचण्डको दस्तावेजमा ‘भारतीय एकाधिकार पुँजिवाद’ भन्ने शब्दावली थियो । त्यसको साटो अब भारतीय विस्तारवाद राखिने उनले बताए । प्रचण्डले पार्टी कार्यदिशा अब नयाँ जनवादी क्रान्ति नभई समाजवादी क्रान्ति हुने स्पष्ट गरेका छन् । बन्दशत्रमा प्रतिनिधिले पार्टी कार्यदिशा अस्पष्ट रहेको भन्दै स्पष्ट गर्न माग गरेका थिए ।
केन्द्रीय समिति १ सय ५१ सदस्यीय
अध्यक्ष प्रचण्डले केन्द्रीय समिति १ सय ५१ सदस्यीय बनाउने प्रस्ताव बैठकमा गरेका छन् । यसअघि उनले हिजो ९९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका थिए । त्यसमा नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले विरोध जनाएपछि उनले नयाँ प्रस्ताव ल्याएका हुन् ।
यसअघि आज बिहान प्रचण्डले श्रेष्ठ र भट्टराईसँग परामर्श गरेका थिए । प्रचण्डले १ सय ५१ मध्ये सम्मेलनबाट तत्कालका लागि ९९ जनाको नाम घोषणा गर्ने र बाँकी पछि चयन गर्ने प्रस्ताव राखेका छन् ।
निर्वाचनको माग गर्दै प्रशर्दन
सम्मेलनस्थल वीरेन्द्र सभागृह अगाडि प्रतिनिधिले निर्वाचन हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । नेतृत्व चयनमा देखिएको विवादका कारण १८ वैशाखमा सुरु भएको सम्मेलन अझै सकिएको छैन ।
चन्द्रबहादुर थापासहित केही युवा नेताले निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने मागसहित हस्ताक्षर अभियान थालेका छन् । उनीहरुले सम्मेलनको बन्दशत्रमा निर्वाचनमा जान शीर्ष नेतृत्वलाई सुरुदेखि नै दबाब दिँदै आएका थिए । विगतमा केन्द्रीय समितिको आकार ठूलो भएका कारण पार्टी भद्रगोलमा फसेको भन्दै युवा नेताले दुई अंकको केन्द्रीय समिति बनाउन माग गरेका छन् ।