कारबाहीमा एघार तालिवानको मृत्यु

काठमाण्डु टुडे २०७१ वैशाख १९ गते १२:०८ मा प्रकाशित

काबुल, १९ वैशाख – अफगानिस्तानमा तालिवानविरुद्ध गरिएको कारबाहीमा परी शुक्रबार कम्तीमा पनि ११ जना तालिवानको ज्यान गएको समाचार छ ।

अफगान राष्ट्रिय सुरक्षाबल (एएनएसएफ)ले अफगानिस्तानका विभिन्न स्थानमा जारी राखेको शृङ्खलाबद्ध कारबाहीमा परी कम्तीमा पनि ११ जना तालिवानको मृत्यु भएको समाचारमा जनाइएको छ । गत २४ घण्टासम्म जारी राखेको सो कारबाहीहरूमा अन्य १७ तालिवान घाइते हुनुका साथै १४ पक्राउ परेको अफगान गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो समयमा अफगान प्रहरीले नै अफगानिस्तानमा तालिवानविरुद्धको कारबाहीलाई सशक्त बनाइएको बताइएको छ । यसै वर्षको अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फर्किसक्ने भएकाले त्यहाँका सुरक्षाकर्मीलाई तालिवानविरुद्धको कारबाहीका लागि अघि सारिएको बताइएको छ ।

अफगानिस्तानमा सेना र नेटोसँग आबद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलले विगत करिब दस वर्षदेखि तालिवानहरूका विरुद्धमा कारबाही जारी राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us