
नयाँ दिल्ली, १९ वैशाख – भारतीय उत्तरपूर्वी राज्य आसाममा त्यहाँका विद्रोहीले आक्रमण गरी कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिकको हत्या गरेका छन् ।
हतियारधारी विद्रोहीहरूले गएराति आसामका विभिन्न तीन स्थानमा आक्रमण गरी ती व्यक्तिको हत्या गरेका समाचारमा उल्लेख गरिएको छ । सो आक्रमणमा परी थप आठ स्थानीय गम्भीर घाइते भएका छन् । घाइतेलाई पनि विद्रोहीले दिएको धम्कीका कारण शुक्रबार बिहान मात्र अस्पताल पु¥याइएको थियो ।
आसाममा विगत लामो समयदेखि विद्रोह गरिआएको हतियारधारी सशस्त्र सङ्गठन नेशनल डेमोक्र्याटिक फन्ट अफ बोडो ल्यान्डले सो हत्या गरेको बताएको छ ।
आसामका एक जना प्रहरी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा भने, यस आक्रमणबाट ११ जनाको घटनास्थलमै ज्यान गएको छ भने आठ जनालाई अस्पताल लगिएको छ । उनका अनुसार घाइतेको अवस्था गम्भीर रहेको छ । स्थानीयहरूले पहिलो आक्रमण कोक्राजहार जिल्लामा गरिएको जानकारी दिएका छन् ।
त्यसपछि राति नै विद्रोहीले नरसिंहबारी र बालपारा गाउँमा आक्रमण गरेका थिए । आधुनिक हतियार र गोली हानेर ती आक्रमण गरेको बताइएको छ । त्यहाँ उक्त सङ्गठनले जातीय हिंसा मच्चाउँदै आएको छ । थप हिंसा हुने डरले शुक्रबार बिहानैदेखि त्यहाँ अर्ध सैनिक बल परिचालन गरिएको छ ।
ती हत्याराको खोजी भइरहेको पनि प्रहरीले बताएको छ । विगतदेखि नै उक्त क्षेत्रमा सो हतियारधारी सङ्गठनले हिंसा मच्चाउँदै अएको र अलग्गै राज्यको माग गरिरहेको छ । हाल त्यहाँको अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ । तर यो जातीय हिंसा कुनै पनि समयमा भड्किन सक्ने भन्दै आसाम सरकारले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेको छ ।