
काठमाण्डु,१४ वैशाख – अर्थमन्त्री डा रामशरण महतले जेठ मसान्तभित्रमा बजेट आउने बताएका छन् । व्यवस्थापिका– संसद् मातहतको अर्थ समितिको आजको बैठकमा बोल्दै उनले बजेटका प्राथमिकताको थप पहिचानका लागि संसद्मा पूर्व बजेट तयारी छलफल गरेर जेठ मसान्तसम्ममा बजेट ल्याउने सोचमा सरकार रहेको बताए । असार महिनामा विनियोजन शीर्षक माथिको छलफल सकेर साउनको सुरुदेखि नै बजेट कार्यान्वयमा लैजानुपर्छ भन्ने मान्यता अघि सारेको छु उनले भने ।
राजनीतिक अस्थिरताका चरण सकिएर सङ्क्रमणकालको समेत अत्य हुन थालेकाले अब मूल राष्ट्रिय एजेन्डा आर्थिक विकास र जनताका जीवनस्तर उठाउने नै हुनुपर्ने बताउँदै अर्थ मन्त्री महतले “बजेट विनियोजन मात्रै महत्वपूर्ण कुरा होइन, कार्यान्वयनको पाटो अहिलेको मुख्य चुनौती हो भने ।