
काठमाण्डु, १३ वैशाख– नेपाल वायु सेवा निगमले आन्तरिक उडान प्रयोजनका लागि ल्याउन लागेको जहाज आइतबार काठमाण्डु आइपुग्ने भएको छ ।
चीनमा निर्मित सो जहाज शनिबारै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने भनिए पनि विभिन्न कारणवश आइपुग्न नसकेको हो । चीन सरकारले अनुदानमा उपलब्ध गराउन लागेको जहाजमा ५६ सिट रहेको छ । मुलुकका सुगम गन्तव्यमा व्यावसायिक उडानका लागि भरपर्दो मानिएको सो जहाज आएपछि निगमको बजार हिस्सा बढ्ने विश्वास गरिएको छ ।
निगमका प्रवक्ता रामहरि शर्माका अनुसार चीनबाट उडान गरेर नै सो जहाज आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । ‘केही प्राविधिक तयारी तथा कागजात मिलाउन एक दिन बढी लागेका कारण आज जहाज अवतरण हुन सकेन, सबै प्रक्रिया मिलिसकेको छ, आइतबार जहाज आइपुग्छ’, शर्माले भने ।
चीन सरकारले आन्तरिक उडानका लागि पााच जहाज निगमलाई उपलब्ध गराउने विषयमा यसअघि नै सहमति जनाइसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘नो अब्जेक्सन लेटर’ दिन ढिलाइ गरेका कारण पछिल्लो दिनमा आशंका बढे पनि शुक्रबार निगमले सो पत्र प्राप्त गरेको थियो । ण्तर प्राधिकरणले सो जहाजलाई उडान अनुमति भने दिएको छैन
प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले सो जहाजको सबै परीक्षणपछि मात्रै उडान अनुमतिपत्र दिइने बताए । ‘जहाजको आवश्यक परीक्षण जरुरत पर्छ, बिमा गरिएको छ वा छैन, जहाज कसले उडाउने लगायत विषयमा आवश्यक जाँचपड्ताल नगरिकन अनुमति दिन सकिँदैन’, सुमनले भने ।
जहाज आएपछि उडान अनुमति पनि दिने प्राधिकरणको भनाइ छ । पछिल्लो दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा मुलुकको हवाई क्षेत्रमा विभिन्न खालका चुनौती एवम् समस्या देखिएकाले परीक्षण गर्न लागिएको हुन सक्ने विज्ञको भनाइ छ ।
निगमले २८ वर्षपछि आन्तरिक उडानका लागि नयाँ जहाज ल्याउन लागेको हो । गत फागुन ४ मा निगमसँग रहेको ट्विनअटर जहाज दुर्घटना भएपछि एउटा मात्रै जहाजबाट आन्तरिक उडान गर्दै आएको थियो । निगमको साख धानेको अर्को सोही ढाँचाको जहाजसमेत गत चैतमा समस्या उत्पन्न भएपछि निगम जहाजविहीन बन्न पुगेको थियो ।
मर्मत सम्भारपछि उडाइएको निगमको सो जहाजले सबै उडान गन्तव्यमा सेवा प्रदान गर्न सकेको छैन । नयाँ जहाज आएपछि केही सहजता पैदा हुने विश्वास लिइएको छ । चिनियाँ एभिएसन इन्ड्रस्टी कर्पोरेसन (एभिक) ले सो जहाज निगमलाई औपचारिकरुपमै गत चैत २० गते उपलब्ध गराइसकेको छ । सो जहाज कुन मुलुकका चालकले उडाएर ल्याउने भन्ने बारेमा भने निगमले कुनै जानकारी दिएको छैन । अनुदानमा नै प्राप्त हुने अर्को जहाज भने दुई महिनापछि आइपुग्ने छ ।
एभिकले सो ढााचाको जहाज जिम्बाबे, कङ्गो, लाओस, बोलिभिया, श्रीलङ्कालगायत मुलुकमा समेत उपलब्ध गराइसकेको छ । चीनभित्रै समेत आन्तरिक उडानमा सो जहाज प्रयोगमा रहेको छ । रासस