पचास करोड विद्युत् रोयल्टी वितरण हुँदै

काठमाण्डु टुडे २०७१ वैशाख ११ गते ११:३९ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख – सरकारले यसपटक वितरण गर्न लागेको विद्युत् रोयल्टीमध्ये सबैभन्दा बढी रोयल्टी गोरखा जिल्ला विकास समितिले प्राप्त गर्ने भएको छ ।

ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले तयार पारेको रोयल्टी वितरणको तालिकाअनुसार यसपटक गोरखा जिविसले सबैभन्दा बढी तीन करोड ८५ लाख रोयल्टी प्राप्त गर्नेछ । यस्तै मकवानपुरले दुई करोड ७० लाख र नुवाकोटले दुई करोड ६० लाख रोयल्टी प्राप्त गर्नेछ । चालु आर्थिक वर्षमा ५० करोड विद्युत् रोयल्टी सम्बन्धित जिल्ला विकास समितिलाई वितरण गरिने भएको छ ।

विभागका अनुसार स्याङ्जाले एक करोड ९५ लाख प्राप्त गर्नेछ भने गुल्मीले दुई करोड १० लाख, नवलपरासीले एक करोड ७० लाख, पर्वतले एक करोड ६० लाख, अर्घाखाँचीले एक करोड ३० लाख र बागलुङले एक करोड ४० लाख प्राप्त गर्नेछ ।

यस्तै रुुकुम, रोल्पा, सल्यान, दाङ, दैलेख, जाजरकोट, बाँके, बर्दिया, सुर्खेत, हुम्ला, जुम्ला, डोल्पा र कालीकोटले पनि समान रु पाँच लाख रोयल्टी पाउने छन् । सबैभन्दा कम रोयल्टी प्राप्त गर्ने जिविसमा ताप्लेजुङ, पाँचथर, झापा तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सिरहा, सप्तरी र उदयपुरले समान रु दुई लाख मात्रै पाउने भएका छन् ।

सुदूरपश्चिम विकास क्षेत्रमा कुनै पनि जलविद्युत् आयोजना नभएका कारण यसपटक पनि ७५ जिविसमध्ये ६६ वटा जिविसले मात्रै रोयल्टी प्राप्त गर्नेछन् । विभागका अनुसार बाँकी नौ वटा जिल्ला विकास समितिले आर्थिक विवरण र प्रगति विवरण नबुझाएका कारण सो रोयल्टी नपाउने अवस्था देखिएको हो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us