क्यान र क्रिकेट खेलाडीबीचको वार्ता निष्कर्षहीन

काठमाण्डु टुडे २०७१ वैशाख २ गते ११:१४ मा प्रकाशित

काठमाण्डु, २ वैशाख– नेपाल क्रिकेट संघ (क्यान) र एक दिवसीय क्रिकेट प्रतियोगिता बहिस्कार गरेर १० बुँदे मागसहित आन्दोलनमा उत्रिएको नेपाली राष्ट्रिय can bartaक्रिकेट टोलीबीचको वार्ता बिनानिष्कर्ष सकिएको छ ।
खेलाडीले क्यानको वर्तमान कार्यसमिति भंग हुनुपर्ने अडान राखेपछि वार्तामा सहमति नभएको हो । मध्यबानेश्वरस्थित क्यान कार्यालयमा बिहान ११ देखि साँझ ५ बजेसम्म चलेको वार्तामा क्यानले खेलाडीका कतिपय माग पूरा गर्न नसकिने खालका रहेको बताएको थियो ।

क्यानद्वारा गठित वार्ता टोली संयोजक चतुरबहादुर चन्दले क्रिकेटको विकासका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीर छलफल भए पनि वार्तामा सहमति नभएको जानकारी काठमाण्डु टुडेलाई दिए ।

उनले बुधबार दिउँसो तीन बने पुन: वार्तामा बस्ने गरी मंगलबारको वार्ता स्थगित गरिएको बताए । क्यानको वर्तमान कार्यसमितिबाट क्रिकेटको विकास सम्भव नभएकाले भंग गरी तदर्थ समिति गठन गर्नुपर्ने माग गरेका थिए । तर वार्तामा सहभागी युवा तथा खुलकुद मन्त्रालय र राष्ट्रिय खुलकुद परिषदका प्रतिनिधि तथा क्यानको वार्ता टोलीले खेलाडीको माग अस्वीकार गरेको छ ।

सरकारी पक्षले क्यान कार्यसमिति भंग गर्न असम्भव रहेको भन्दै तत्कालका लागि छुट्टै कोअर्डिनेटर कमिटि बनाएर अघि बढ्ने प्रस्ताव राखेको थियो । वार्तामा  युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव शान्तिराम शर्माले क्यान निर्वाचित संस्था भएकाले बर्खास्त गर्न कानुनी अड्चन रहेको बताएका थिए ।
खेलाडीले भने कार्यसमिति बर्खास्त गर्न नमिले विकल्पमा क्यानभन्दा शक्तिशाली समन्वय समिति बनाउन माग गरेका छन् ।

सरकारी पक्षले खेलाडीका सबै माग पूरा गर्ने प्रक्रिया सुरु भइसकेकाले सहमतिमा आउन आग्रह गरेको थियो । बैठकपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आफूहरुले तलब भत्ताका लागि नभई सिस्टमका लागि आन्दोलन गरेको बताए । ‘हामीले तलब–भत्ताका लागि होइन सिस्टमका लागि आन्दोनल गरेका हौं’, खड्काले भने ।

शनिबार बसेको क्यान पदाधिकारी बैठकले बाँकी तलब र भत्ता एक साताभित्र उपलब्ध गराउने प्रतिबद्धतासहित वार्तामा आउन खेलाडीलाई अपिल गरको थियो ।
वार्तामा युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव शान्तिराम शर्मा, उपसचिव रामबहादुर हमाल, क्यानद्वारा गठित वार्ता टोली संयोजक चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद खेलकुद संघ समन्वय शाखा प्रमुख प्रकाश घिमिरे तथा क्रिकेटरका तर्फबाट कप्तान खड्कासहित सबै खेलाडी सहभागी थिए ।

आठ महिनादेखि तलब र भत्ता नदिएको तथा भौतिक संरचना निर्माणमा ध्यान नदिएको भन्दै क्रिकेट खेलाडीले क्यान पदाधिकारीको बर्खास्तीको माग राखेर पोखरामा जारी वन डे राष्ट्रिय प्रतियोगिता बहिस्कार गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us