
युक्रेनको विषयलाई लिएर संयुक्त राज्य अमेरिका र रुसबीचको वार्ता विना कुनै सहमति टुंगिएको छ। आइतबार क्राइमियामा हुन लागेको जनमत संग्रहको विषयलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा दुवै पक्ष आआफ्नो धारणामा अडिग रहेका थिए।
लण्डनमा चलेको घण्टौं लामो वार्तापछि रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले भनेका छन्, उक्त विषयमा उनका अमेरिकी समकक्षी जन केरीसंग कुनै साझा धारणा बन्न सकेन।
उनले भने , “हामी बीचका मतभेदहरु कायमै छन् तर यो परिस्थितीमा हामी एकअर्कालाई कुन हदसम्म बुझ्दा रहेछौं भन्ने थाहा पाउनका निम्ती वार्ता निश्चय नै उपयोगी हुन पुगेको छ। तर यस्को मतलब अब कुटनीतिक बाटो समाप्त भएको भने होइन।
रुसले क्राइमियाका सम्बन्धमा आफ्नो आगामी कदम के हुन्छ भन्ने स्पष्ट रुपमा प्रस्तुत गरेको छैन, उस्ले आइतबार त्यहां हुने जनमत संग्रहको नतिजालाई कुर्ने बताएको छ।
जन केरीले भनेका छन् मस्कोले लिने निर्णयले उनकै शब्दमा एकदमै ठूलो प्रतिक्रिया उब्जाउने छ र क्राइमियाको जनमत संग्रहको नतिजालाई रुसले अनुमोदन गरेमा त्यसलाई घुमाउरो तरिकाले आफूमा विलय गराउने कदम चालेको रुपमा बुझिने छ।
अमेरिकी विदेशमन्त्री जन केरी, रुसले त्यस्तो कदम नचाल्ला भन्ने आश्वासन प्राप्त गर्न लण्डन आएका थिए।उनले त्यस्तो केहि हासिल गरेको देखिएको छैन तर उनले आफू र आफ्ना रुसी समकक्षी विच वार्तालाई जारी राख्ने सहमति भएको बताएका छन्। जुन,स्थिती अझ विग्रन जानबाट रोक्नका लागि बचेको झिनो आशाको संकेत हो। दुवै विदेशमन्त्रीले, वार्तालाई रचनात्मक भनेका छन्।
तर समग्र वार्तालाई विदेशमन्त्री लाभ्रोभको भनाईले सार रुपमा व्याख्या गरेको छ की, यस पटक दुवै पक्षको बीचमा कुनै साझा दृष्टिकोण भेटिएन।लण्डनस्थित अमेरिका दूतावासमा दुई नेताबीच छ घण्टा लामो वार्ता भएको थियो
आइतबार युक्रेनको दक्षिणी स्वायत्त गणतन्त्र क्राइमियामा, रुसमा विलय हुने की कियभकै नियन्त्रणमा रहने भन्ने विषयमा मतदाताहरुले निर्णय गर्दैछन्। उता युक्रेनको खारकीभ शहरमा युक्रेन समर्थक र रुस समर्थक कार्यकर्ताहरुबीच भिडन्त भएको छ। विहीबार राती अर्को शहर डोनेत्स्कमा पनि हिंसा फैलिएको थियो। BBC